कुशल मल्लको आक्रामक अर्धशतक
वि.सं.२०८० वैशाख ५ मंगलवार १५:३६
shares

काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा मलेसिया विरुद्धको नेपालले राम्रो प्रदर्शन गरेको छ । सुरुवातमा निकै खराब सुरुवातका बाबजुत नेपाली टोलिले सम्मालिएर खेलिरहेको छ ।
मध्यक्रमका खेलाडीले नेपाली पारी समाल्ले पछि नेपाल जित नजिक पुगेको छ । नेपालका लागि तेस्रो नम्बरमा आएका भीम सार्कीले अर्धशतक प्रहार गरे भने मध्ये क्रमका कुशल मल्लले पनि अर्धशतक प्रहार गरे । सार्कीले ७५ बलमा आफ्नो अर्धशतक प्रहार गरेका थिए भने मल्लले मात्रै २८ बलमा अर्धशतक प्रहार गरेका हुन् ।
अहिले क्रिजमा मल्ल ५० र सार्की ६१ रनमा खेलिरहेका छन् । नेपाली टोलिले मलेसिया विरुद्धको खेल जित्नका लागि २३६ रनको लक्ष्य पछ्याइ रहेको छ । यो समाचार तयार पार्दासम्म नेपाली टोलिले ३१ ओभर ४ बलमा ३ विकेट गुमाएर २०० रन बनाएर खेलिरहेको छ । नेपालका लागि रोहित कुमार पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रनको योगदान दिए । यो अवस्थामा नेपाललाई जितका लागि ३६ रनको आवश्यकता रहेको छ । मलेसियाका लागि मोहम्मद वाफिक, रिजवान हैदर र विरनदीप सिंहले एक/एक विकेट लिएका छन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै विरनदीप सिंह ४६ रन बनाए । खिजर हयात २२ रनमा आउट भए । त्यस्तै स्याजरुल इजत इद्रसले २१ रनको योगदान दिदा ओपनर मोहम्मद अमिर अजीम १७ रनको पारी खेले । बलिङ तर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । त्यस्तै ललित नाराण राजवंशी २ विकेट लिए भने गुल्सन झाले एक विकेट लिए ।
यो प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउने भएकाले प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ । पछिल्लो समय निकै राम्रो लयमा रहेको नेपाली टोलि आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवता गर्ने योजनामा रहेको छ । नेपाल घरेलु मैदानमा पछिल्ला ११ खेलमा अपराजित रहेको छ ।
मलेसिया पनि नेपाललाई हराएर प्रतियोगितामा जितबाट सुरुआत गर्ने योजनामा छ । नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध हार व्यहोरेको छैन । पछिल्लो पटक नेपालले २०१८ मा मलेसियासँग एसिया कप छनोटमा प्रतिस्पर्धा गरेको थियो । मलेसियामै भएको खेलमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।



















