मलेसिया विरुद्ध भीम सार्कीको अर्धशतक
वि.सं.२०८० वैशाख ५ मंगलवार १५:१८
shares

काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा मलेसिया विरुद्धको नेपाली खेलाडी भीम सार्कीले अर्धशतक प्रहार गरेका छन् । आशिफ शेख आउट भएपछि क्रिजमा आएका सार्कीले ७५ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनी अहिले ५० रनमा खेलिरहेका छन् ।
नेपाली टोलिले मलेसिया विरुद्धको खेल जित्नका लागि २३६ रनको लक्ष्य पछ्याइ रहेको छ । सुरुवात खराव गरेको नेपालले अहिले भने सम्मालिएर खेलिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपाली टोलिले २८ ओभर २ बलमा ३ विकेट गुमाएर १६६ रन बनाएर खेलिरहेको छ । त्यस्तै रोहित कुमार पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रनको योगदान दिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै विरनदीप सिंह ४६ रन बनाए । खिजर हयात २२ रनमा आउट भए । त्यस्तै स्याजरुल इजत इद्रसले २१ रनको योगदान दिदा ओपनर मोहम्मद अमिर अजीम १७ रनको पारी खेले । बलिङ तर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । त्यस्तै ललित नाराण राजवंशी २ विकेट लिए भने गुल्सन झाले एक विकेट लिए ।
यो प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउने भएकाले प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ । पछिल्लो समय निकै राम्रो लयमा रहेको नेपाली टोलि आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवता गर्ने योजनामा रहेको छ । नेपाल घरेलु मैदानमा पछिल्ला ११ खेलमा अपराजित रहेको छ ।
मलेसिया पनि नेपाललाई हराएर प्रतियोगितामा जितबाट सुरुआत गर्ने योजनामा छ । नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध हार व्यहोरेको छैन । पछिल्लो पटक नेपालले २०१८ मा मलेसियासँग एसिया कप छनोटमा प्रतिस्पर्धा गरेको थियो । मलेसियामै भएको खेलमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।



















