Dhulikhel Eco Banner new

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

351
shares

काठमाडौँ,१४ भदौ  । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपदबाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा पूजा र गुह्येश्वरी मन्दिरमा चण्डीपाठ गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले बाढी, पहिरो तथा विपद्बाट प्रभावितको जनजीवन शीघ्र सहज बनोस्, घाइतेको शीघ्र स्वास्थ्यलाभ होस् तथा बेपत्ता भएकाको सकुशल उद्धार होस् भन्ने कामनासहित यही भदौ १६ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म महारुद्री, चण्डीपाठ तथा क्षमापूजा गर्न लागेको हो ।

कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार राष्ट्रदेव भगवान् पशुपतिनाथमा १२१ जना ब्राह्मणद्वारा महारुद्री, अभिषेक, हवन तथा पूजा गरिनेछ । गुह्येश्वरी शक्तिपीठमा नौ जना ब्राह्मणद्वारा चण्डीपाठ तथा पूजा गरिनेछ ।

पशुपतिका नवशक्तिपीठ, आगमघर, ११ महारुद्र, १० दिक्पाल, क्षेत्रपाल तथा विभिन्न देवदेवीको तान्त्रिक तथा वैदिक विधिबाट विशेष क्षमापूजा र शान्ति पाठसमेत गरिने उनले जानकारी दिए ।

यसैबिच,कोषको कार्यवाहक सदस्य–सचिवको समेत जिम्मेवारी सम्हालिरहेकी कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु सात लाख सहयोग गर्ने निर्णय गरेको सदस्य भण्डारीले जानकारी दिए।