GBIME

‘प्रसाद २’को छायांकन सम्पन, वैशाख १ गते रिलिज हुने

1.79K
shares

काठमाडौं, ३० पुस । यो वर्षकै प्रतिक्षित चलचित्र ‘प्रसाद २’ को छायांकन सकिएको छ । ३१ दिनमा छायांकन सकिएको चलचित्र वैशाख १ गते रिलिज मिति तोकिएको हो ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई कास्कीको माछापुच्छ्रे गाउँपालिकामा खिचिएको निर्माण पक्षले जनाएको छ । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन बस्नेतको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सुवास थापा हुन् ।

यो चलचित्रमा नायक विपिन कार्की र नायिका केकी अधिकारी मुख्य भूमिकामा रहेको छ । चलचित्रमा विपिन र केकीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको मुख्य भूमिका छ ।

चलचित्रमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ । उत्तम न्यौपानेको ध्वनी रहेको चलचित्रको कथा रंग पत्रकार सुशिल पौडेलले लेखेका हुन् । यसैबिच, चलचित्रको इन्डक्ल्याप भएकै दिन यसको निर्माणपक्षले प्रदर्शन मिति समेत तय गरेको छ । यो चलचित्रलाई वि.सं २०८० सालको वैशाख १ गतेबाट प्रदर्शन गर्ने पक्का गरिएको निर्देशक सुदर्शन थापाले जानकारी दिए ।

‘चलचित्र ‘प्रसाद’लाई दर्शकले अपार माया दिनुभएको छ । यस्तै, माया ‘प्रसाद २’ बाट पनि पाउनेमा विश्वस्त छौं,’ उनले भने, ‘दर्शकका लागि नयाँ बर्ष ‘प्रसाद २’ ले विशेष बनाउनेमा आशावादी छौं ।’
सिंगो टिमको मिहिनेतका कारण ३१ दिनमै चलचित्रको छायांकन पुरा गर्न संभव भएको उनको भनाइ छ ।