Dhulikhel Eco Banner new

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिज लाइन इनर्जीको आईपीओ आज बन्द हुँदै

5.32K
shares

काठमाडौं, १७ पुस । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज (पुस १७) अन्तिम दिन रहेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर २२ गते प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६ लाख ७ हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो।

अनुमतिपछि कम्पनीले ११ लाख ८५ हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४२ हजार २०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ।

आयोजना प्रभाविततर्फ गोरखाको अजिरकोट गाउँपालिकाका सबै वडाका बासिन्दा तथा लमजुङको दूधपोखरी गाउँपालिकाका वडा नम्बर १, २ र ३ र दोर्दी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का स्थानीयले आवेदन दिन सक्नेछन्। उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। आयोजना प्रभावितका लागि आवेदन दिने अन्तिम म्याद पुस २८ गतेसम्म तोकिएको छ।

आईपीओ रेटिङतर्फ केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ, जसले समयमै वित्तीय दायित्व भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। आईपीओ निष्कासन तथा बाँडफाँडको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ।

आयोजना प्रभावितले गोरखास्थित कम्पनीको आयोजना कार्यालय, प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, क्यापिटलले निर्माण गरेको अनलाइन लिंक, साथै प्रभु बैंकको गोरखास्थित छेपेटार र पालुङटार शाखामार्फत आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सिआस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था छ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।