Dhulikhel Eco Banner new

सोलु हाइड्रोपावरको आईपीओ पुस २९ गतेदेखि सर्वसाधारणका लागि खुला हुने

3.82K
shares

काठमाडौं, २० पुस । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन तथा बाँडफाँड गरेसँगै पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १ करोड कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

बाँकी रहेको ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। त्यसपछि बाँकी ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो।

सर्वसाधारणले पुस २९ गतेदेखि माघ ४ गतेसम्म बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा भने निष्कासन अवधि माघ १४ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

आईपीओमा आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।