Dhulikhel Eco Banner new

‘निर्वाचनका कारण निजी क्षेत्रलाई कुनै समस्या उत्पन्न हुनु हुँदैन’

9.41K
shares

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज श्रेष्ठले फागुन २१ गते हुने तय भइसकेको निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र लगानीमैत्री ढंगले सम्पन्न गर्नुपर्ने बताएका छन्।

महासंघको तर्फबाट जारी विज्ञप्तिमार्फत अध्यक्ष श्रेष्ठले निर्वाचनले देशको राजनीतिक स्थायित्वसँगै समग्र आर्थिक वातावरण र लगानी विश्वासमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरेका छन्। निजी क्षेत्रका लागि स्पष्ट निर्वाचन कार्यतालिका र प्रभावकारी कार्यान्वयन सकारात्मक सन्देश भएको उनको भनाइ छ।

विज्ञप्तिमा अध्यक्ष श्रेष्ठले निर्वाचन प्रक्रियामा पारदर्शिता र समयमै निर्णय कार्यान्वयन हुन सके निजी क्षेत्रभित्र लगानी र व्यवसायिक गतिविधि थप सक्रिय हुने बताएका छन्। निर्वाचन अवधिभर उद्योग–व्यवसाय, आपूर्ति श्रृंखला, ढुवानी तथा वित्तीय कारोबार प्रभावित नहुने वातावरण सुनिश्चित गर्न पनि उनले आग्रह गरेका छन्।

महासंघ अध्यक्ष श्रेष्ठले स्वदेशी तथा विदेशी लगानीकर्तामा विश्वास कायम गर्न निर्वाचन आयोगले आफ्नो संवैधानिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। साथै, राजनीतिक दल र उम्मेदवारहरूको चुनाव खर्चमा पारदर्शिता, आचारसंहिताको कडाइका साथ पालना र प्रभावकारी अनुगमन आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

विज्ञप्तिमा मतदाता नामावली, सूचना प्रवाह र गुनासो व्यवस्थापनमा डिजिटल प्रणालीको प्रयोगले निर्वाचनलाई अझ विश्वसनीय बनाउन सकिने उल्लेख छ। निजी क्षेत्रसँग निर्वाचन आयोग तथा सम्बन्धित निकायबीच नियमित संवाद र सहकार्य आवश्यक रहेको महासंघको धारणा छ।

“स्वच्छ, निष्पक्ष र लगानीमैत्री निर्वाचनले राजनीतिक स्थायित्व सुनिश्चित गर्नुका साथै निजी क्षेत्रको दीर्घकालीन लगानी वातावरणलाई मजबुत बनाउँछ,” अध्यक्ष श्रेष्ठले विज्ञप्तिमार्फत बताएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघ संविधान, कानुन र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै देशको आर्थिक विकास र रोजगारी सिर्जनामा निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।