नेपाल स्की संघद्वारा आयोजित राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न
वि.सं.२०८२ माघ २४ शनिवार १३:५९
shares

काठमाडौं, २४ माघ । नेपाल स्की संघको आयोजनामा आज माघ २४ गते राष्ट्रिय स्की प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा देशभरका सिनियर तथा जुनियर खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सिनियर पुरुषतर्फ रसुवाका छेवाङ मिङयोर तामाङले प्रथम स्थान हासिल गर्दा काठमाडौंका समीप लामिछाने दोस्रो र दोलखाका पुण्डरिक पाण्डे तेस्रो स्थानमा रहे। त्यसैगरी, जुनियर पुरुषतर्फ दोलखाका सामदेन गेल्बु शेर्पाले प्रथम स्थान प्राप्त गरे भने भक्तपुरका अर्थ सिंह बोहरा दोस्रो र मुस्ताङका केसाङ गुरुङ तेस्रो भए।
महिला सिनियरतर्फ नुवाकोटकी संगीता लामाले प्रथम स्थान हात पारिन् भने काठमाडौंकी आयुसी महर्जन दोस्रो भइन्। जुनियर महिलातर्फ काठमाडौंकी नैना शाक्री प्रथम, महोत्तरीकी मेनका कुमारी आले दोस्रो र काठमाडौंकी आसिया तामाङ तेस्रो स्थानमा रहिन्।
प्रतियोगितामा जम्मा २५ जना खेलाडीको सहभागिता रहेको थियो, जसमा १० जना सिनियर र १५ जना जुनियर खेलाडी रहेका थिए। कार्यक्रमको विशेष आकर्षणका रूपमा कर्णाली प्रदेशबाट ८ वर्षीया सम्भव सिम्खडाको सहभागिता उल्लेखनीय रह्यो, जो प्रतियोगिताको सबैभन्दा कान्छो खेलाडी थिए । कार्यक्रमको समापन नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए। उनले खेलाडीहरूको प्रदर्शनको प्रशंसा गर्दै भविष्यमा स्की खेलको विकास र विस्तारका लागि यस्ता प्रतियोगिता निरन्तर आयोजना गरिने बताए ।



















