एपोलो हाइड्रोपावरको भोलिबाट आईपीओ खुल्ने
वि.सं.२०८२ फागुन १० आइतवार १४:१६
shares

काठमाडौं, १० फागुन । एपोलो हाइड्रोपावर लिमिटेडले भोलि फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बिक्री खुला गर्नेछ।
कम्पनीको जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गरिनेछ। यसमा ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र ९४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
उच्च प्रभावित क्षेत्रका लागि ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का बासिन्दाले २ लाख ३५ हजार कित्ता शेयरमा आवेदन दिन सक्नेछन्। मध्यम प्रभावित क्षेत्रका लागि सोलुखुम्बु, लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप, उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाले १ लाख ४१ हजार कित्ता शेयरमा आवेदन दिन सक्नेछन्। न्यून प्रभावित क्षेत्रका लागि रामेछाप, उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का बासिन्दाले ९४ हजार कित्ता शेयरमा आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाले आवेदन गर्दा बढीमा ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले बढीमा ९४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावितका लागि आईपीओ फागुन १५ देखि चैत १० सम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन १४ देखि २५ सम्म।
आवेदन स्थानीय बासिन्दाले आयोजना कार्यालय, लक्ष्मी सनराइज बैंक, शिवालय र प्रिति शाखा कार्यालयबाट दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी माइनस” प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्दछ। शेयर निष्काशन र बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले सम्हालेको छ।

















