Dhulikhel Eco Banner new

मध्यपूर्व तनावका कारण खाडी मुलुकतर्फ श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

5.34K
shares

काठमाडौं, १७ फागुन । मध्यपूर्वमा विकसित हुँदै गएको युद्धजन्य अवस्थालाई मध्यनजर गर्दै सरकारले खाडी तथा प्रभावित मुलुकतर्फ जाने नेपाली कामदारका लागि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

इजरायल, अमेरिका र इरानबीच चर्किँदै गएको द्वन्द्वका कारण क्षेत्रीय सुरक्षा जोखिम बढेपछि श्रम स्वीकृति प्रक्रिया अस्थायी रूपमा रोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। पछिल्ला दिनमा इरानले क्षेत्रभर रहेका अमेरिकी सैन्य संरचनामाथि जवाफी आक्रमण थालेपछि अवस्था थप जटिल बन्दै गएको सरकारी अधिकारीहरूको भनाइ छ।

सरकारका अनुसार विशेषगरी युनाइटेड अरब इमिरेट्स, कतार, ओमान र कुवेत लगायतका मुलुकमा सुरक्षा सतर्कता उच्च पारिएको अवस्थामा त्यहाँ कार्यरत तथा जान लागेका नेपाली श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको हो।

मन्त्रालयले अर्को सूचना जारी नभएसम्म ती मुलुकतर्फ नयाँ श्रम स्वीकृति जारी नगर्ने स्पष्ट पारेको छ। यस निर्णयसँगै वैदेशिक रोजगारीका लागि प्रक्रिया पूरा गरिसकेका तथा उडानको तयारीमा रहेका सयौँ नेपाली कामदार प्रभावित भएका छन्।

सरकारले सम्बन्धित निकायहरूसँग समन्वय गरी परिस्थितिको निरन्तर अनुगमन भइरहेको र आवश्यक परे थप निर्णय गरिने जनाएको छ।