Dhulikhel Eco Banner new

आठ महिना बित्दा पनि विकास बजेट खर्च २० प्रतिशतभन्दा कम

4.49K
shares

काठमाडौं, १८ फागुन । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि सरकारले विनियोजन गरेको पुँजीगत बजेटको २० प्रतिशत समेत खर्च हुन सकेको छैन । विकास निर्माणका काम सुस्त गतिमा अघि बढ्दा बजेट कार्यान्वयन कमजोर देखिएको हो ।

सरकारले जेठ १५ मा प्रस्तुत बजेटमार्फत चालु आर्थिक वर्षका लागि विकासतर्फ ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत बजेट छुट्याएको थियो । तर खर्चको अवस्था भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन १७ गतेसम्म पुँजीगत शीर्षकअन्तर्गत ७५ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल विनियोजित बजेटको १८.५९ प्रतिशत मात्र हो ।

आर्थिक वर्षको आठ महिना बित्न लाग्दा पनि सरकारले १ खर्ब रुपैयाँ बराबरको विकास बजेट समेत खर्च गर्न नसकेको तथ्यांकले देखाएको छ । विकास आयोजनाको ढिलाइ, ठेक्का व्यवस्थापनमा समस्या तथा कार्यान्वयन कमजोर हुँदा पुँजीगत खर्च न्यून रहेको  छ ।

आर्थिक वर्षको बाँकी अवधिमा खर्च बढाउने सरकारी लक्ष्य रहे पनि हालसम्मको प्रगति भने निराशाजनक देखिएको छ ।