Dhulikhel Eco Banner new

इजरायल–इरान युद्ध : नेपाली युवाको ज्यान जोखिममा, महंगी बढ्न सक्ने

नेपाललाई यी क्षेत्रमा पर्दैछ गम्भीर असर

5.3K
shares

काठमाडौं, १९ फागुन । अमेरिका–इजरायल मिलेर इरानमा आक्रमण पछि त्यहाँका सर्वोच्च नेता खामेनी मारिए । आफ्ना सर्वोच्च नेता मारिए पनि इरान क्रुद्ध बनेको छ । युद्ध जारी छ । इजरायलले इरानका मुख्य शहरहरूमा हवाई तथा मिसाइल आक्रमण जारी राखेका छन्, जसमा तेहरान र अन्य ठूलो शहरहरू समेत पर्न थालेका छन् ।

इजरायलले पछिल्लो २४–३० घण्टामा २,००० भन्दा बढी बम प्रहार गरेको दाबी गरेको छ । केवल इरानमा मात्रै होइन, लेबनान लगायत अन्य क्षेत्रहरूमा पनि आक्रमणहरू बढेका छन्, जहाँ कम्तीमा ३१ जनाको मृत्यु भएको समाचार आएको छ ।

२०० भन्दा धेरै मानिसहरू मरेका र ७४० भन्दा बढी घाइते भएको रिपोर्ट पनि छ । युद्ध मध्यपूर्वका अन्य देशहरूमा समेत फैलिँदै छ, र साउदी अरब, कुवेत, कतार, यूएईजस्ता क्षेत्रमा हवाई सुरक्षा सतर्कता बढेको छ ।

इरान–बहरैन तथा अन्य खाडी राष्ट्रका लागि मिसाइल आक्रमण समेत गरिएको रिपोर्टहरू देखिएका छन् । अमेरिकी राष्ट्रपतिले यस अभियान केही हप्तासम्म जारी रहन सक्ने बताएका छन् र लक्ष्य पूरा नभएसम्म आक्रमण जारी रहने संकेत दिएका छन् । पेंटागनले भूमिमा सैनिक परिचालनको योजना तत्काल नभएको भने पनि समयसँग परिवर्तन हुन सक्ने सम्भावनालाई खुला राखेको छ ।

नेपाली लाखौँ युवाको ज्यान जोखिममा, महंगी बढ्न सक्ने

अमेरिका–इजरायल–इरानबीच बढ्दो तनाव र सम्भावित युद्धले नेपाल प्रत्यक्ष रूपमा संलग्न नभए पनि अप्रत्यक्ष रूपमा धेरै क्षेत्रमा असर पार्न सक्छ । यो युद्धका कारण इरानको मुद्रा इतिहासकै कमजोर बनेको छ । महंगीले आकास चुमेको छ ।

त्यो असर नेपालमा पनि पर्ने खतरा छ । सबैभन्दा मूख्य कुरा चाहिँ पेट्रोलियम पदार्थको मूल्य वृद्धि हो । यदि खाडी क्षेत्र् प्रभावित भयो भने विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढ्न सक्छ ।

नेपाल पूर्ण रूपमा आयातमा निर्भर भएको देश हो । जसका कारण यो युद्धले पेट्रोल, डिजेल, ग्यासको मूल्य बढ्नेछ । ढुवानी खर्च महँगो हुने, बजारमा समग्र महँगी (मुद्रास्फीति) बढ्ने, यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जीवनमा पर्छ ।

मध्यपूर्वका देशहरू (कतार, यूएई, साउदी अरब, कुवेत आदि) मा लाखौँ नेपाली कार्यरत छन्। यदि ती देशहरू युद्धको असरमा परे सुरक्षा जोखिम बढ्नेछ । यसले रोजगारी घटाउछ । रोजगारी घट्यो भने नेपालमा आउने रेमिट्यान्स घट्न सक्छ, जसले अर्थतन्त्रमा ठूलो धक्का दिन सक्छ ।

अझ सबैभन्दा महत्पूर्ण कुरा चाहिँ सुरक्षाको हो । खाडी मुलुकहरुमा अहिले लाखौँ युवाहरु कार्यरत छन् । एक जना नेपाली युवाको त यो युद्धले ज्यान समेत लिइसकेको छ । यो युद्ध तत्कालै रोकिने सम्भावना पनि कम छ ।

यदि युद्ध विस्तार भयो भने खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाको प्रश्न उठ्छ । सरकारलाई उद्धारको तयारी गर्नुपर्ने हुन सक्छ ।

आयात–निर्यात र व्यापार तेल मात्र होइन, विश्व व्यापार मार्ग अस्थिर भएमा आयात लागत बढ्ने, डलर महँगो हुनसक्ने, विदेशी मुद्रा सञ्चिति दबाबमा पर्न सक्छ भने नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा यसको प्रभाव उल्लेखनीय हुन्छ ।

अर्को कुरा विश्वव्यापी अस्थिरताले पर्यटक आगमन घट्न सक्छ । विदेशी लगानी सुस्त हुन सक्छ । आर्थिक पुनरुत्थानमा असर पर्न सक्छ । नेपालले परराष्ट्र नीतिमा सधैं असङ्गठित र सन्तुलित नीति अपनाउँदै आएको छ । अमेरिका, इरान र इजरायल सबैसँग नेपालका सम्बन्ध छन् । यस्तो अवस्थामा नेपालले सावधानीपूर्वक तटस्थ धारणा लिनुपर्ने हुन्छ ।