Dhulikhel Eco Banner new

आठ महिनामा वैदेशिक व्यापार १३.५५ प्रतिशतवृद्धि, आयात–निर्यात अनुपातमा सुधार

2.17K
shares

काठमाडौं, ८ चैत । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको कुल वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार समीक्षा अवधिमा व्यापार १३.५५ प्रतिशतले वृद्धि भएको हो।

कुल व्यापारमध्ये १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात र १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। आयात गत वर्षको सोही अवधिको ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँको तुलनामा १२.५४ प्रतिशतले बढेको हो। फागुन महिनामा मात्रै १ खर्ब ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ।

यता, निर्याततर्फ पनि उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, जुन अघिल्लो वर्षको १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँको तुलनामा २०.८३ प्रतिशतले बढी हो।

आयात-निर्यात अनुपातमा भने केही सुधार देखिएको छ। अघिल्लो वर्ष १ रुपैयाँ बराबरको निर्यात गर्दा ७.२४ रुपैयाँ बराबरको आयात हुने गरेकोमा चालु वर्षमा सो अनुपात घटेर ६.७५ रुपैयाँ कायम भएको छ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.१३ प्रतिशतबाट बढेर १२.९१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८७.८७ प्रतिशतबाट घटेर ८७.०९ प्रतिशतमा झरेको छ।