स्वास्थ्य मन्त्रालयद्वारा मधेसका अस्पतालहरूको स्थलगत अनुगमन गरिने
वि.सं.२०८२ चैत २९ आइतवार १७:३१
shares

काठमाडौं, २९ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजविरुद्ध प्राप्त गुनासोहरू तथा मधेस प्रदेशका विभिन्न अस्पतालहरूको सेवा प्रवाहबारे स्थलगत अनुगमन गर्ने भएको छ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले चैत २७ गतेको मन्त्रालयस्तरीय निर्णयअनुसार एक अनुगमन टोली गठन गरी सम्बन्धित अस्पतालहरूमा खटाएको हो।
अनुगमन टोलीमा उपचारात्मक सेवा महाशाखाका डा. फणिन्द्रप्रसाद बराल र गुणस्तर मापन तथा नियमन महाशाखाका मेडिकल ल्याब टेक्नोलोजिस्ट राजकुमार पाण्डे रहेका छन्।
टोलीले नेसनल मेडिकल कलेजका सम्बन्धमा आएका उजुरीहरूको सत्यतथ्य अध्ययन गर्नुका साथै गजेन्द्रनारायण सिंह अस्पताल र नारायणी अस्पतालको पनि निरीक्षण गर्नेछ।
यसका साथै मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी जनकपुर, महोत्तरी लगायतका क्षेत्रमा रहेका प्रदेशस्तरीय अस्पतालहरूको समेत अनुगमन गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले हालै जारी गरेको ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ अनुसार अस्पतालहरूले सेवा प्रवाह गरेरनगरेको तथा तोकिएको मापदण्ड पूरा गरेरनगरेको विषयमा चेकलिस्टका आधारमा स्थलगत जाँच गरिनेछ।
अनुगमन टोलीलाई आफ्नो कार्य सम्पन्न गरी ७ दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।


















