खिचापोखरी क्षेत्रमा ५३ फर्ममा अनुगमन, सबैलाई सुधारात्मक निर्देशन
वि.सं.२०८३ वैशाख ४ शुक्रवार ०८:१३
shares
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई आक्रामक बनाउँदै एकैदिन ५३ वटा व्यावसायिक फर्मको विवरण संकलन गरेको छ। पछिल्लो समय उपभोक्ता अधिकार संरक्षण र बजार अनुशासन कायम गर्न विभागले अनुगमनलाई तीव्रता दिँदै आएको छ।
विभागले बिहीबार काठमाडौंको खिचापोखरी क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न पसल, व्यापारिक प्रतिष्ठान तथा फर्महरूमा अनुगमन गरेको हो। अनुगमनका क्रममा बिलबिजक जारी गरिएको छ/छैन, उपभोक्तालाई आवश्यक जानकारी प्रदान गरिएको छ/छैन, साथै उपभोक्ता संरक्षण ऐन, २०७५ का प्रावधानहरू पालना गरिएको छ/छैन भन्ने विषयमा विशेष ध्यान दिइएको विभागले जनाएको छ।
अनुगमनका क्रममा भेटिएका कमीकमजोरीहरूलाई सुधार गर्न विभागले सम्बन्धित सबै फर्मलाई निर्देशन दिएको छ। तत्काल कारबाहीभन्दा पनि पहिलो चरणमा सचेतना र सुधारमा जोड दिँदै व्यवसायीलाई नियमअनुसार सञ्चालन गर्न आग्रह गरिएको विभागको भनाइ छ।
विभागले पछिल्ला दिनहरूमा बजार अनुगमनको दायरा विस्तार गर्दै ठूलो सङ्ख्यामा फर्महरूको निरीक्षण गर्दै आएको छ। उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित यस्ता गतिविधिलाई निरन्तरता दिइने विभागले स्पष्ट पारेको छ।
स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको सहभागितामा विभागले नियमित रूपमा बजार अनुगमन सञ्चालन गरिरहेको जनाएको छ। बजारमा पारदर्शिता र अनुशासन कायम गर्न यस्ता संयुक्त अनुगमन प्रभावकारी हुने विश्वास विभागको छ।


















