Dhulikhel Eco Banner new

मातातीर्थ औँसी आज: आमाप्रति श्रद्धा, सम्मान र स्मरण व्यक्त गर्ने विशेष दिन

832
shares

काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा मनाइने मातातीर्थ औँसी अर्थात् ‘आमाको मुख हेर्ने पर्व’ देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइएको छ। नेपाली समाजमा आमाको महत्वलाई उच्च स्थानमा राख्दै यो पर्वलाई विशेष सांस्कृतिक तथा धार्मिक महत्वका साथ हरेक वर्ष मनाउने गरिन्छ।

यस दिन छोराछोरीले बिहानै स्नान गरी आफ्नी आमालाई नयाँ लुगा लगाइदिने, मीठा तथा तागतिला परिकार खुवाउने र आशीर्वाद थाप्ने चलन रहेको छ। आमाप्रति कृतज्ञता प्रकट गर्दै परिवारभित्र प्रेम, सम्मान र भावनात्मक सम्बन्ध सुदृढ गर्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ।

शास्त्रीय मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि महान मानिने भएकाले आमाप्रति श्रद्धा र भक्ति प्रकट गर्ने यो दिनलाई विशेष महत्व दिइएको छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति अनुसार आमा र जन्मभूमिको स्थान स्वर्गभन्दा पनि उच्च रहेको धार्मिक विश्वास पाइन्छ।

आमा गुमाएका व्यक्तिहरूले भने यस दिन दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गर्ने परम्परा निर्वाह गर्छन्। पुरोहितलाई भोजन गराई श्राद्ध गर्दा दिवङ्गत आमाको आशीर्वाद प्राप्त हुने विश्वास समाजमा रहिआएको छ।

वैदिक परम्पराअनुसार प्रत्येक व्यक्तिले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने उल्लेख गरिन्छ, जसअन्तर्गत आमाप्रतिको कर्तव्यलाई पनि महत्वपूर्ण रूपमा हेरिन्छ।

यस अवसरमा काठमाडौंको मातातीर्थ क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ। स्थानीय तहका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ र श्रद्धालुहरूको उल्लेख्य भीड लाग्ने अपेक्षा गरिएको छ।