अब एटीएमबाट एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न सकिने
वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:५९
shares

काठमाडौं, ३ वैशाख । नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद झिक्ने सीमा घटाएको छ। हालै जारी गरिएको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत केन्द्रीय बैंकले नयाँ सीमा निर्धारण गरेको हो।
नयाँ व्यवस्था अनुसार अब एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र एटीएमबाट झिक्न सकिनेछ। यसअघि एक पटकमा २५ हजार रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो।
त्यस्तै, दैनिक सीमा ५० हजार रुपैयाँ र मासिक सीमा ३ लाख रुपैयाँ कायम गरिएको छ। यसअघि दैनिक १ लाख र मासिक ४ लाख रुपैयाँसम्म झिक्न सकिने व्यवस्था थियो।
प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत हुने कारोबारको सीमामा भने कुनै परिवर्तन गरिएको छैन। प्रिपेड कार्डबाट एक पटकमा १० हजार, दैनिक २० हजार र मासिक २ लाख रुपैयाँसम्म झिक्न सकिने व्यवस्था यथावत् रहेको छ। क्रेडिट कार्डबाट १० प्रतिशत नगद झिक्न पाउने पुरानै व्यवस्था कायम गरिएको छ।
राष्ट्र बैंकले वस्तु तथा सेवा खरिद गर्दा कार्डमार्फत सम्बन्धित व्यवसायीको खातामा गरिने भुक्तानीमा कुनै सीमा लागू नहुने स्पष्ट पारेको छ।
त्यसैगरी, प्रिपेड कार्ड जारी गर्दा बैंक तथा वित्तीय संस्थाहरूले प्रति ग्राहक अधिकतम १ लाख रुपैयाँसम्मको कार्ड जारी गर्न सक्नेछन्। बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानी सेवा प्रदायक संस्थाले भने अधिकतम २५ हजार रुपैयाँसम्मको प्रिपेड कार्ड जारी गर्न पाउने व्यवस्था गरिएको छ।
कन्ट्याक्टलेस कार्डमार्फत हुने कारोबारमा प्रति कारोबार अधिकतम ५ हजार रुपैयाँसम्मको सीमा तोकिएको छ। कारोबार संख्या र जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्था सम्बन्धित संस्थाले निर्धारण गर्नेछ।
मोबाइल बैंकिङ एपमार्फत दैनिक ३ लाख रुपैयाँसम्म र वेबसाइटमार्फत दैनिक २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने व्यवस्था यथावत् रहेको राष्ट्र बैंकले जनाएको छ।

















