रिलायन्स फाइनान्सले ईसेवासँग सहकार्य गर्दै डिजिटल ऋण सेवा सुरु गर्ने
वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:५२
shares

काठमाडौं, ३ चैत । रिलायन्स फाइनान्स लिमिटेडले डिजिटल ऋण सेवा प्रदान गर्ने भएको छ। यसका लागि कम्पनीले ईसेवासँग सहकार्य गर्दै ईसेवा मोबाइल एपमार्फत ग्राहकलाई डिजिटल कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेको छ।
रिलायन्स फाइनान्सको प्रधान कार्यालय, कमलादीमा सम्पन्न सम्झौताअनुसार ईसेवाका ग्राहकहरूले आफ्नो व्यवसाय विस्तारका लागि बिना धितो २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा सहज, छिटो र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछन्।
सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत डा. बुद्धि मल्ल र ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्ताक्षर गरेका हुन्।
दुवै पक्षले यो सहकार्यले कागजी प्रक्रिया बिना छिटो ऋण सेवा उपलब्ध गराउनुका साथै नेपालको डिजिटल अर्थतन्त्रलाई थप प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।
देशभर २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि पनि विभिन्न संस्थासँग सहकार्य गर्दै नवीन वित्तीय सेवा प्रदान गर्दै आएको छ।

















