Dhulikhel Eco Banner new

एकुमुलेसन संकेत देखिए पनि स्ट्रेन्थ कमजोर, बजार अपट्रेन्ड : एडीएक्स डाउनट्रेन्डमा

1.12K
shares

काठमाडौं, ४ वैशाख । साताको अन्त्यतिर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक प्राविधिक रूपमा मिडल ब्यान्ड क्षेत्र आसपास घुम्दै साइडवेज प्रवृत्तिमा देखिएको छ । दिनभरको कारोबार हेर्दा बजारमा स्पष्ट दिशा नदेखिँदा लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’ को अवस्थामा रहेको देखिन्छ । प्राविधिक विश्लेषक अजित खनाल का अनुसार बजारले उच्च उच्च (एचएच) बनाउनु अघि देखिएको साइडवेज क्यारेक्टरलाई सकारात्मक रूपमा लिन सकिन्छ । “वाइकफ सिद्धान्त अनुसार बजारमा बढ्नु अघि एकुमुलेसन आवश्यक हुन्छ । अहिलेको सानो दायरा भित्रको चालले एकुमुलेसन भइरहेको संकेत दिन सक्छ,” उनले बताए ।

उनका अनुसार अबका क्यान्डलहरू साना दायराभित्रै रहँदै तल्लो न्यून (एलएल) नबनाउनु अत्यन्त महत्वपूर्ण हुनेछ । “यदि बजारले एलएल नबनाई स्थिर रूपमा एकुमुलेसन देखाउन सक्यो भने आगामी दिनमा बजार बलियो बन्ने आधार तयार हुन सक्छ,” उनले स्पष्ट पारे । आरएसआई सूचक अहिले न्यूट्रल जोन आसपास देखिएको छ, जसले बजारमा न त अत्यधिक खरिद दबाब छ न त बिक्री दबाब अत्यधिक छ भन्ने संकेत गर्दछ। यद्यपि, हरियो क्यान्डलहरूमा कारोबार बढ्न नसक्नु भने बजारको कमजोरीको मुख्य कारणको रूपमा देखिएको छ । “बजार बलियो बन्न कारोबारको समर्थन अनिवार्य हुन्छ,” खनालले भने। दिनको सुरुवातमा बजार थोरै ग्यापअप खुले पनि दोस्रो मिनेटमै ग्याप फिल भएको थियो। त्यसपछि केही समय सकारात्मक देखिएको बजारले बिहान ११ः१३ बजे दिनको उच्च विन्दु छोएपछि भने निरन्तर दबाबमा परेको थियो। १२ः१९ बजे दिनको न्यून विन्दु बनाएपछि बजार केही सुधार हुँदै बन्द भएको देखिन्छ ।

समग्रमा दिनभरको कारोबारमा उल्लेखनीय मुमेन्टम नदेखिँदा बजार केही ‘पट्यारलाग्दो’ जस्तो देखिएको विश्लेषण गरिएको छ । प्राविधिक रूपमा बजारको स्ट्रेन्थ अझै कमजोर रहेको संकेतहरू देखिएका छन्। खनालका अनुसार हालको बजार संरचनामा एउटा महत्वपूर्ण जोखिम पनि देखिन्छ । “यदि बजार अपट्रेन्ड बनाउने क्रममा एडीएक्स डाउनट्रेन्डमा रह्यो भने समस्या हुन्छ। अझ खतरनाक अवस्था त त्यो हुन्छ जब बजार डाउनट्रेन्डमा जाँदा एडीएक्स अपट्रेन्डमा जान थाल्छ,” उनले चेतावनी दिए । कारोबारमा संलग्न शीर्ष १० ब्रोकरहरूको गतिविधि हेर्दा किनबेच लगभग बराबरी देखिएको छ, जसले बजारमा स्पष्ट दिशा अभाव रहेको संकेत गर्दछ । समग्रमा, बजार अहिले एकुमुलेसनको चरणमा रहेको संकेत देखिए पनि बलियो अपट्रेन्ड सुरु हुन अझै केही पुष्टि संकेतहरू आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ ।