Dhulikhel Eco Banner new

काठमाडौं महानगर सहकारीका सम्पर्कविहीन ऋणी सदस्यको विवरण माग्दै

923
shares

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिका अन्तर्गतको सहकारी विभागले ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने तथा सम्पर्कविहीन रहेका ऋणी सदस्यहरूको विवरण उपलब्ध गराउन सहकारी संस्थाहरूलाई आग्रह गरेको छ ।

महानगरपालिकाले प्रचलित सहकारी ऐन तथा नियमावलीअनुसार ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन विभागले एसएमएस तथा पत्राचारमार्फत सहजीकरण गरिरहेको जनाएको छ ।

महानगरपालिका क्षेत्राधिकारभित्र रहेका इच्छुक सहकारी संस्थाहरूले ऋण असुली सहजीकरणका लागि आवश्यक विवरण तथा कागजात विभागमा पेश गर्नुपर्ने जनाइएको छ । विभागका अनुसार सहकारी संस्थाले ऋण असुलीसम्बन्धी सञ्चालक समितिको निर्णयको प्रतिलिपि, ऋणी सदस्यको पूरा नाम, नागरिकताको प्रतिलिपि, ऋणको साँवा तथा ब्याज विवरण, तमसुकको प्रतिलिपि, सदस्यता नम्बर र मोबाइल नम्बर उपलब्ध गराउनुपर्नेछ ।

यसका साथै ऋणी सदस्यसम्बन्धी विवरण एक्सेल शिटको सफ्ट कपीमा समेत पेश गर्न विभागले अनुरोध गरेको छ । महानगरपालिकाले सहकारी क्षेत्रमा बढ्दो ऋण असुली समस्या समाधान गर्दै बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले यस्तो पहल गरिएको जनाएको छ ।