Dhulikhel Eco Banner new

बजेट, ब्याजदर र बुलिस संकेतबीच नेप्सेले कस्तो दिशा समात्ला ?

5.02K
shares

मुलुकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने मिति नजिकिँदै जाँदा पूँजी बजारमा सकारात्मक अपेक्षा क्रमशः बढ्न थालेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेट उत्पादनमुखी, निजी क्षेत्रमैत्री र अर्थतन्त्र चलायमान बनाउने खालको हुने संकेत दिइसकेका छन् । त्यससँगै बजेटपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनःसंरचना प्रक्रिया अघि बढाइने चर्चा र नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ नेतृत्व पाउने तयारीले पनि बजारमा आशा थपेको देखिन्छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहनु, ब्याजदर तल्लो विन्दुमा कायम हुनु तथा समग्र आर्थिक सूचकहरू क्रमशः सकारात्मक दिशामा देखिनुले लगानीकर्ताको मनोविज्ञानमा सुधार आउन थालेको विश्लेषण गरिएको छ । यद्यपि ठूला लगानीकर्ता अझै पूर्ण रूपमा सक्रिय नदेखिए पनि त्यो अवस्था लामो समय नरहने अनुमान बजार वृत्तमा गर्न थालिएको छ ।

यही सकारात्मक मनोविज्ञानबीच बुधबार नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा बन्द भएको थियो । कारोबार रकम पनि बढेर ३ अर्ब ८२ करोड रुपैयाँ नाघेको थियो । जलविद्युत, होटल, वित्त तथा लगानी समूहमा देखिएको खरीद चापले बजारमा पुनः उत्साह फर्किन थालेको संकेत दिएको थियो ।

प्राविधिक रूपमा पनि बुधबारको बजारले केही सकारात्मक संकेत दिएको विश्लेषण गरिएको छ । डे चार्टमा बनेको हरियो क्याण्डललाई ‘बुलिस हरामी’ शैलीको संकेतका रूपमा हेरिएको छ । पछिल्ला केही दिनको कमजोरीपछि बनेको यो क्याण्डलले विक्री दबाब घट्दै गएको र खरीदकर्ता पुनः सक्रिय हुन थालेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ ।

चार्टमा प्रयोग गरिएको इचिमोकु क्लाउड, RSI र MACD जस्ता सूचकले पनि बजारमा कमजोरी घट्दै गएको संकेत गरेका छन् । RSI ५० नजिक पुग्दै माथितर्फ फर्किन खोजेको छ भने MACD मा विक्री दबाब कमजोर बन्दै गएको देखिन्छ । बजार संरचनामा पनि Higher Low बन्न थालेकाले डाउनट्रेन्ड क्रमशः कमजोर हुँदै गएको अनुमान गरिएको छ ।

अब आजको कारोबारमा लगानीकर्ताको नजर विशेषगरी २७७०–२८०० को क्षेत्रमा रहने देखिन्छ । यदि बजारले यो क्षेत्र माथि टिक्न सफल भयो भने नेप्सेले थप सकारात्मक गति लिन सक्ने विश्लेषण गरिएको छ । तर सो क्षेत्र पार गर्न नसके बजारमा फेरि सामान्य करेक्सन आउन सक्ने सम्भावना पनि कायम रहेको विश्लेषकहरू बताउँछन् ।

अहिले बजारमा बजेटप्रतिको आशा, कम ब्याजदर, सेबोनमा नयाँ नेतृत्वको तयारी र प्राविधिक सुधारका संकेतले सकारात्मक वातावरण निर्माण गरिरहेको छ । यही कारण आजको कारोबारमा बजारले निरन्तरता दिन्छ वा पुनः दबाबमा जान्छ भन्ने विषयलाई लगानीकर्ताले चासोका साथ हेरिरहेका छन् ।