राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने
वि.सं.२०८३ जेठ ७ बिहीवार १६:४९
shares

काठमाडौं, ७ जेठ । साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच भएको सम्झौताबमोजीम सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२ कार्यान्वयन सुरु भएको छ ।
स्विजरल्याण्ड सरकारको विकास र सहयोगका लागि स्विस एजेन्सी र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजना अन्तर्गत कोशी प्रदेश साना तथा मझौला उद्यम व्यवसायहरुमा प्रवाहित हुने कर्जाको सुरक्षणका लागि प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच स्थापना भएको कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोषबाट कर्जा सुरक्षण हुने गरी योजना सञ्चालन गर्न लागिएको हो ।
यस योजना अन्तर्गत बैंकको आरबीबी एसएमई लोन प्रोडक्ट पेपरको अधिनमा रही साना तथा मझौला स्तरका कृषि, उद्योग, सेवा व्यवसाय आदि क्षेत्रमा रु. ३० लाख देखि रु. ३ करोड सम्मको कर्जा प्रवाह गरिनेछ । उक्त कर्जामा बैंकको नियमानुसार न्यूनतम ब्याजदर र प्रशोधन शुल्क कायम गरिएको छ ।
वि.सं २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१४ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३३४ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ मार्फत ४७ लाख भन्दा बढी ग्राहकलाई विभिन्न किसिमका कर्जा, निक्षेप सहित आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।
















