Dhulikhel Eco Banner new

कर्जा लिनुअघि ब्याजदरबारे स्पष्ट जानकारी लिन राष्ट्र बैंकको आग्रह

1.51K
shares

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जाको ब्याजदरबारे ग्राहकलाई सचेत रहन आग्रह गरेको छ। राष्ट्र बैंकले स्थिर र परिवर्तनशील दुवै प्रकारका ब्याजदरमा कर्जा प्रवाह हुने भएकाले ग्राहकले कर्जा लिँदा त्यसबारे स्पष्ट जानकारी लिनुपर्ने जनाएको हो।

राष्ट्र बैंकका अनुसार स्थिर ब्याजदर भएको कर्जामा तोकिएको अवधिसम्म ब्याजदर परिवर्तन हुँदैन। तर परिवर्तनशील ब्याजदरमा भने बैंकको आधार दर (बेस रेट) मा हुने परिवर्तनअनुसार ब्याजदर घटबढ हुन सक्छ।

राष्ट्र बैंकले परिवर्तनशील ब्याजदरमा कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने जनाएको छ। यस्तो प्रिमियम ग्राहक तथा कर्जाको जोखिम मूल्यांकनका आधारमा तय गरिने उल्लेख गरिएको छ।

यसैबीच, राष्ट्र बैंकले एकपटक प्रिमियम दर निर्धारण गरी कर्जा स्वीकृत भएपछि त्यसलाई मनपरी रूपमा बढाउन नपाइने स्पष्ट पारेको छ। साथै छुट दिएर पछि स्वतः वृद्धि हुने योजना लागू गर्नसमेत नपाइने व्यवस्था रहेको जनाएको छ।

परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकलाई कर्जा प्रस्तावपत्र लिँदा आधार दर र प्रिमियम दरबारे स्पष्ट जानकारी लिन राष्ट्र बैंकले सुझाव दिएको छ। साथै आधार दरमा आएको परिवर्तनका कारण ब्याजदरमा कति परिवर्तन भयो र त्यो कहिलेदेखि लागू भयो भन्ने जानकारी सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट बुझ्न पनि आग्रह गरिएको छ।