Dhulikhel Eco Banner new

भारतमा फेरि बढ्यो खाना पकाउने ग्यासको मूल्य, थप महँगिन सक्ने संकेत

1.05K
shares

काठमाडौं, २४ जेठ । भारतमा खाना पकाउने ग्यास (एलपीजी) को मूल्य पुनः वृद्धि भएको छ। शनिबार रातिदेखि लागू हुने गरी घरेलु एलपीजी सिलिन्डरको मूल्यमा २९ भारतीय रुपैयाँ बढाइएको हो।

नयाँ मूल्यअनुसार आइतबारदेखि भारतको राजधानी दिल्लीमा १४.२ किलोग्राम क्षमताको घरेलु ग्यास सिलिन्डरको मूल्य ९४२ भारतीय रुपैयाँ पुगेको छ। पछिल्लो तीन महिनामा घरेलु एलपीजीको मूल्य बढेको यो दोस्रो पटक हो। यसअघि मार्च ७ मा प्रतिसिलिन्डर ६० भारतीय रुपैयाँले मूल्य वृद्धि गरिएको थियो।

घरेलु ग्यास मात्र नभई व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपीजीको मूल्य पनि निरन्तर बढिरहेको छ। जुन १ मा १९ किलोग्राम क्षमताको व्यावसायिक सिलिन्डरको मूल्य ४२ भारतीय रुपैयाँले बढेर ३ हजार १ सय १३ रुपैयाँ पुगेको थियो।

यसैबीच, मे महिनामा पेट्रोल र डिजेलको मूल्य पनि चार पटकसम्म बढाइएको छ। मे १५ देखि २५ सम्मको अवधिमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ७ देखि ७।५ भारतीय रुपैयाँसम्म बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

किन बढिरहेको छ मूल्य ?

भारत सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र वृद्धिलाई मूल्यवृद्धिको प्रमुख कारण मानेको छ। पश्चिम एसियामा बढ्दो तनावका कारण विश्व ऊर्जा बजार प्रभावित हुँदा यसको प्रत्यक्ष असर भारतमा देखिएको हो।

विशेषगरी इरान वरपरको क्षेत्रबाट हुने तेल तथा ग्यास आपूर्तिमा अवरोध सिर्जना भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको बताइएको छ। ऊर्जा आयातमा ठूलो मात्रामा निर्भर भारतले त्यसको प्रत्यक्ष असर भोगिरहेको छ।

हाल भारतमा ३३ करोड ३७ लाखभन्दा बढी परिवारसँग एलपीजी जडान रहेको छ। तीमध्ये १० करोड ५८ लाख परिवार प्रधानमन्त्री उज्ज्वला योजना अन्तर्गतका लाभग्राही हुन्। ग्यासको मूल्यवृद्धिले यिनै परिवारसहित करोडौं उपभोक्ताको घरायसी खर्च बढाउने देखिएको छ।

विश्लेषकहरूका अनुसार पश्चिम एसियाको तनाव तत्कालै समाधान नभए अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य थप बढ्न सक्नेछ, जसको प्रभाव भारतमा ग्यास, पेट्रोल र डिजेलको मूल्यमा अझै पर्न सक्ने अनुमान गरिएको छ।