काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
वि.सं.२०८३ जेठ ३१ आइतवार १३:५२
shares

काठमाडौं, ३१ जेठ । काठमाडौँ महानगरपालिकाले ७ क्लस्टरमा विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने भएको छ ।
महानगरपालिकाले फोहर निःशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक पुनः चक्रीय प्रयोग आधारित ‘सर्कुलर इकोनोमी’ लाई प्रवद्र्धन हुने गरी प्रविधिको प्रयोगमार्फत फोहर मैलाको उचित व्यवस्थापन गर्ने भएको हो ।
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा स्थानान्तरण केन्द्रबाट निष्कासित न्यून फोहरलाई बन्चरे डाँडा ल्याण्डफिल साइटमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहरको वैज्ञानिक व्यवस्थापन गरिनेछ ।
फोहरमैला व्यवस्थापनलाई अनलाइन एपका माध्यमबाट सूचना तथा विवरण महानगरपालिका सम्बद्ध कार्यालय, सेवा प्रदायक र सेवाग्राहीको पहुँचमा हुने विशेष प्रबन्ध मिलाउने, उचित प्रविधिको प्रयोग गरी वायु, जल, जमिन, ध्वनि, दृश्य आदि प्रदूषण नियन्त्रण गर्ने, सङ्घ, प्रदेश तथा अन्य स्थानीय सरकारसँगको समन्वय, सहकार्य र साझेदारीमा वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण तथा न्यूनिकरणका कार्यक्रम सञ्चालन गरिने छ ।















