देशभरका ८० हजार बालबालिकाद्वारा एक बालबालिका, एक बिरुवा अभियान अन्तर्गत वृक्षारोपण
वि.सं.२०८३ जेठ ३१ आइतवार १७:१४
shares

काठमाडौं, ३१ जेठ । विश्व वातावरण दिवसको अवसरमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल को नेतृत्वमा देशभरका करिब ८० हजार बालबालिकाहरूले ‘एक बालबालिका, एक बिरुवा’ नामक राष्ट्रिय अभियान अन्तर्गत वृक्षारोपण गरेका छन्। स्थानीय सरकार, विद्यालय र सामुदायिक सरोकारवालाहरूको घनिष्ट सहकार्यमा यो बृहत् अभियान सम्पन्न भएको हो।
नेपालका पहाड, हिमाल र तराईका विभिन्न १७ जिल्लाका ४६ वटा स्थानीय तहमा यो अभियान सञ्चालन गरिएको थियो। उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौँ, ललितपुर, लमजुङ, जुम्ला, कैलाली, कञ्चनपुर, अछाम, डोटी, दैलेख, जाजरकोट, बाँके र बझाङका बालबालिकाहरूले विद्यालय, समुदाय, वडा कार्यालय र आफ्नै घरआँगनमा वृक्षारोपण गरेका छन्। वातावरण संरक्षण र दिगो जीविकोपार्जनमा टेवा पुऱ्याउने उद्देश्यले आँप, लिची, अम्बा र सुन्तलाजस्ता फलफूलका साथै स्थानीय हावापानी सुहाउँदो प्रजातिका हजारौँ बिरुवाहरू रोपिएका छन्।
यस अभियानको एउटा गौरवपूर्ण पक्ष समावेशिता रहेको छ, जहाँ ५७३ जना अपाङ्गता भएका बालबालिकाले पनि सक्रिय सहभागिता जनाएका छन्। यसले जलवायु कार्यमा सबैको समतामूलक सहभागिता सुनिश्चित गर्ने र दिगो भविष्य निर्माणमा हरेक बालबालिकालाई सहभागी गराउने वर्ल्ड भिजनको प्रतिबद्धतालाई प्रस्ट पारेको छ।
वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन २७ वटा साझेदार संस्थाहरू, स्थानीय सरकार, सामुदायिक वन समूह र परिवारहरूको प्रभावकारी समन्वय रहेको थियो। रोपिएका बिरुवाहरूको दीर्घकालीन संरक्षणका लागि वर्ल्ड भिजनले परिवारहरूसँग मिलेर प्राङ्गारिक मलको प्रयोग र नियमित अनुगमन जस्ता कार्यहरूलाई पनि अगाडि बढाएको छ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्राविधिक कार्यक्रम उत्थानशीलता तथा जीविकोपार्जन सह(निर्देशक प्रकाश तिवारीले भन्नुभयो—वातावरणीय ह्रास र जलवायु परिवर्तनले बालबालिकाको हितमा निम्त्याएका प्रणालीगत चुनौतीहरूलाई सम्बोधन गर्न वर्ल्ड भिजन प्रतिबद्ध छ। ‘एक बालबालिका, एक बिरुवा’ अभियानमार्फत हामीले बालबालिकामा सचेतना र जिम्मेवारीको भावना विकास गरेका छौँ। आज देशभरका ८० हजार बालबालिका जलवायु समाधानका सक्रिय योगदानकर्ताका रूपमा उभिनु निकै प्रेरणादायी छ।
अभियानको प्रभावकारिताका बारेमा एकदरा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले भन्नुभयो— ूयस पहलले हरित समुदाय निर्माणका साथै भविष्यमा खाद्य सुरक्षा र पोषणमा पनि टेवा पुऱ्याउनेछ। यस्तै, राष्ट्रिय आधारभूत विद्यालय बहेडाका प्रधानाध्यापक राम ईश्वर मण्डल र टीकापुर नगरपालिका वडा नं। ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले यस अभियानले बालबालिकालाई प्रकृतिप्रति जिम्मेवार बनाउन र व्यावहारिक शिक्षा प्रदान गर्न ठूलो भूमिका खेलेको बताएका छन्।















