Dhulikhel Eco Banner new

नेप्से कमजोर संरचनामा, लगानीकर्तामा अन्योल कायमै, 

प्राविधिक विश्लेषण : बजार अझै कमजोर संरचनामा

533
shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पुनः ओरालो लागेको छ। अघिल्लो कारोबार दिन सामान्य सुधार देखिएको बजारले निरन्तरता दिन नसक्दा नेप्से ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा बन्द भएको हो। कारोबारको सुरुवातमै केही उत्साह देखिए पनि त्यो लामो समय टिक्न सकेन र दिनभर बजार दबाबमै रह्यो।

बजार सुरुवातमा ग्यापडाउनसहित खुलेको थियो। पहिलो २० मिनेटभित्रै दिनकै उच्च बिन्दु छोएको बजार त्यसपछि क्रमशः कमजोर बन्दै गयो। दिउँसो १२:५१ बजे दिनकै न्यून स्तरमा पुगेपछि केही समय सुधारको प्रयास देखिए पनि कारोबारको अन्तिम चरणमा पुनः बिक्री दबाब बढ्दा सूचक थप घटेर बन्द भएको छ। पछिल्ला दिनहरूमा देखिँदै आएको अन्तिम समयमा बजार कमजोर हुने प्रवृत्ति बिहीबार पनि दोहोरिएको देखियो।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ३४७ कम्पनीका ७७ लाख ४३ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्। कुल ४१ हजार १०४ पटक भएको कारोबारमा शीर्ष १० ब्रोकरको खरिद र बिक्री संख्या बराबरी जस्तै देखिएकाले बजारले अझै स्पष्ट दिशा लिन नसकेको संकेत गरेको छ।

उपसमूहगत प्रदर्शन मिश्रित रह्यो। १३ मध्ये ५ उपसमूहमा सामान्य वृद्धि देखिए पनि ८ उपसमूह घटेका छन्। बैंकिङ, वित्त, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूह हरियो रहे भने अन्य समूह सबैभन्दा धेरै ०.८६ प्रतिशतले ओरालो लाग्यो। समग्र बजार कमजोर रहँदा पनि एपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सले सकारात्मक सर्किट कायम गरे। आत्मनिर्भर लघुवित्तको मूल्य करिब साढे १२ प्रतिशतले बढ्दा बुंगल हाइड्रोपावरमा पनि उल्लेखनीय वृद्धि देखियो। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो भने युनाइटेड मोदी हाइड्रोपावर र सिइडिबी होल्डिङ्स दोस्रो तथा तेस्रो स्थानमा रहे।

प्राविधिक विश्लेषणले बजार अझै कमजोर संरचनामा रहेको संकेत गरेको छ। बजार हाल माइनर सपोर्ट क्षेत्रमा रहेर स्पिनिङ टप क्यान्डल बनाएको भए पनि लगातार उच्च शिखर (Higher High) बनाउन नसक्नु चिन्ताको विषय बनेको छ। पछिल्ला १२ वटा दैनिक क्यान्डलमध्ये कुनैले पनि नयाँ Higher High बनाउन नसकेको अवस्था देखिएको छ, जसले बजारको उकालो प्रवृत्ति अझै पुष्टि हुन नसकेको विश्लेषण गरिएको छ।

त्यस्तै, ADX सूचक बढ्दो क्रममा रहे पनि घट्दो बजारसँगै यसको वृद्धि सकारात्मक संकेत मानिएको छैन। RSI सूचक ३६ को स्तरमा झरेर ओभरसोल्ड क्षेत्र नजिक पुगेको छ भने २०० दिने मुभिङ एभरेज २७१४ विन्दुमा रहँदा बजार त्यसभन्दा तल कारोबार भइरहेको छ।

आर्थिक सूचकहरू भने तुलनात्मक रूपमा सकारात्मक देखिएका छन्। बैंक ब्याजदर घट्दो क्रममा रहनु, वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य तरलता हुनु तथा विदेशी विनिमय सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्नुजस्ता पक्ष बजारका लागि अनुकूल मानिए पनि त्यसको प्रभाव सेयर बजारमा देखिन सकेको छैन। नियामकीय अन्योल, सम्पत्ति छानबिनसँग सम्बन्धित गतिविधि, धितोपत्र बोर्डमा लामो समयदेखि नेतृत्व रिक्त रहनु तथा नीतिगत स्पष्टताको अभावले लगानीकर्ताको मनोबल कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ।

धितोपत्र बोर्डमा नेतृत्व नहुँदा १०० भन्दा बढी कम्पनीका करिब ६९ अर्ब रुपैयाँ बराबरका प्राथमिक सेयर निष्कासन प्रस्ताव स्वीकृतिको प्रतीक्षामा रोकिएको अवस्था छ। यसले पूँजी बजारको विस्तार प्रक्रियामा समेत असर पुर्‍याएको बताइन्छ।

बजार विश्लेषकहरूका अनुसार पछिल्ला तीन महिनामा नेप्सेको कुल बजार पुँजीकरण करिब चार खर्ब रुपैयाँले घटिसकेको अनुमान छ। उनीहरूका अनुसार बजारमा स्पष्ट सुधारको संकेत देखिन Higher High बन्नु आवश्यक छ। त्यस्तो संकेत नआएसम्म लगानीकर्ताले सतर्क रणनीति अपनाउनु उपयुक्त हुने र दीर्घकालीन सुधारका लागि सरकारको स्पष्ट नीति तथा धितोपत्र बोर्डमा स्थायी नेतृत्व नियुक्ति अपरिहार्य रहेको उनीहरूको निष्कर्ष छ।