Dhulikhel Eco Banner new

रसुवागढी जलविद्युत केन्द्रले फेरि उत्पादन सुरु गर्यो

1.08K
shares

काठमाडौं, १६ असार । रसुवागढी हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रले फेरी उत्पादन सुरु गर्येको छ। वर्षायाममा पूर्ण क्षमतामा निर्वाध रूपमा विद्युत उत्पादन गर्ने उद्देश्यले मर्मतसम्भारका लागि बन्द गरिएको केन्द्रबाट असार १५ गतेदेखि उत्पादन पुनः सुचारु गरिएको रसुवागढी हाइड्रोपावर लिमिटेडले जनाएको छ।

कम्पनीका अनुसार जेठ २६ गतेदेखि असार १४ गतेसम्म केन्द्र पूर्ण रूपमा बन्द गरी आवश्यक प्राविधिक मर्मत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्य सम्पन्न गरिएको थियो। निर्धारित समयभित्र सबै काम सम्पन्न भएपछि केन्द्रका युनिटहरूबाट पुनः विद्युत उत्पादन सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ।

गत वर्ष २०८२ साल असार २४ गते आएको ठूलो हिमबाढीका कारण रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–टिमुरेमा रहेको यस जलविद्युत केन्द्रका अधिकांश संरचना तथा मेसिन उपकरणमा ठूलो क्षति पुगेको थियो। त्यसपछि आंशिक पुनर्स्थापना तथा पुनर्निर्माण सम्पन्न गरी केन्द्रका तीनवटै युनिटबाट विद्युत उत्पादन पुनः सञ्चालनमा ल्याइएको थियो।

कम्पनीले आगामी वर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्युत उत्पादनलाई सुरक्षित, भरपर्दो र पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक थप पुनर्स्थापना तथा सुदृढीकरणका काम वर्षा सुरु हुनुअघि नै सम्पन्न गरिएको जनाएको छ।