Dhulikhel Eco Banner new

रायोको सागमा भेटियो अत्यधिक विषादी, नष्ट गर्न निर्देशन

1.16K
shares

काठमाडौं, १६ असार । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित परीक्षणका क्रममा सागमा विषादीको मात्रा उच्च रहेको नमुना फेला परेको छ ।

कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले आज बिहान गरेको परीक्षणमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ल्याइएको रायोको सागमा विषादीको मात्रा तोकिएको मापदण्डभन्दा बढी देखिएको हो ।

परीक्षण प्रतिवेदनअनुसार उक्त रायोको सागमा अर्गानोफस्फेटको मात्रा ५०.०१६० प्रतिशत देखिएकाले त्यसलाई ‘विसर्जन गर्ने’ (नष्ट गर्नुपर्ने) श्रेणीमा राखिएको छ । प्रयोगशालाले कुल १२ वटा तरकारीका नमुनामा परीक्षण गरेको थियो । तीमध्ये रायोको साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेँडा समावेश थिए । बाँकी ११ वटा नमुनामा भने विषादीको मात्रा ‘उपभोग योग्य’ सीमाभित्रै रहेको पाइएको छ ।

प्रयोगशालाका अनुसार ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएका तरकारी उपभोगका लागि सुरक्षित मानिन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म विषादी देखिएका तरकारीलाई केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ भने ४५ प्रतिशतभन्दा बढी विषादी पाइएका तरकारी खान अयोग्य ठहर गरी पूर्ण रूपमा नष्ट गर्नुपर्ने व्यवस्था छ ।

प्रयोगशालाले यो परीक्षण केवल कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीमा मात्र केन्द्रित रहेको जनाएको छ ।