हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
वि.सं.२०८३ साउन १७ आइतवार १६:३९
shares

काठमाडौं, १७ साउन । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । यस खण्डमा २४ वटा पुल निर्माण भइसकेका छन् भने ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र भएको छ ।
यहाँस्थित हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटरमध्ये ३४७ दशमलव ६३ किलोमिटरमा कालोपत्र भएको छ । धनुषामा तीन, सर्लाहीमा सात, महोत्तरीमा तीन र सिरहामा तीन गरी १९ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् । कालोपत्र गर्न बाँकी ५८ दशमलव ८ किलोमिटर सडकमध्ये १२ दशमलव ८ किलोमिटर सडकको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ ।
चालु आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले बताए । सिरहामा २९ दशमलव ९८, महोत्तरीमा ९१ दशमलव ५६,सर्लाहीमा १५१ दशमलव ५१ किलोमिटर निर्माण भएको छ । निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम हुलाकी राजमार्ग एक हजार ७९२ किलोमिटर लामो हुनेछ ।
















