Dhulikhel Eco Banner new

कृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो, वितरणयोग्य नाफामा ठूलो संकुचन

खुद वितरणयोग्य नाफा ५७ करोड २६ लाख

611
shares

काठमाडौं — कृषि विकास बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्ष २०८२/८३ मा २९.५२ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी पनि ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष बैंकले ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। सञ्चालन नाफा पनि ५ अर्ब २१ करोड ८ लाख रुपैयाँबाट घटेर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ कायम भएको छ।

कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धिले बैंकको नाफामा थप दबाब परेको देखिन्छ। अघिल्लो वर्ष ६३ करोड ७ लाख रुपैयाँ रहेको कर्जा नोक्सानी व्यवस्था गत आर्थिक वर्ष बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ।

नियामकीय समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा ५७ करोड २६ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब ४३ करोड ३० लाख रुपैयाँ थियो। सञ्चित नाफा तथा नगद लाभांशसम्बन्धी समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ कायम भएको छ। साधारण सेयरधनीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ६ रुपैयाँ ५४ पैसा रहेको छ।

बैंकको कुल चुक्ता पुँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ छ। यसमध्ये साधारण सेयर पुँजी १४ अर्ब ३० करोड र अग्राधिकार सेयर पुँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। जगेडा तथा सञ्चित नाफासहित बैंकको कुल इक्विटी ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

नाफा घटे पनि बैंकको निक्षेप र कर्जा विस्तार भने सकारात्मक देखिएको छ। बैंकको निक्षेप १८.३६ प्रतिशतले बढेर ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह १६.२४ प्रतिशतले बढेर २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ।