Dhulikhel Eco Banner new

बीमा प्राधिकरणकै छत्रछायाँमा ‘पोलिसी पार्लर’को गैरकानुनी धन्दा !

975
shares

काठमाडौं, २१ साउन । उच्च तहका व्यक्तिहरूको संलग्नतामा स्थापना भएको ‘पोलिसी पार्लर’ नामक कम्पनीले बीमा क्षेत्रमा गैरकानुनी गतिविधि गरिरहेको आरोप लागेको छ। इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा सञ्चालित ‘पोलिसी पार्लर’लाई नियामक निकाय बीमा प्राधिकरणको संरक्षण रहेको दाबी गरिएको छ।

केही बीमा कम्पनीसँगको सहकार्यमा कम्पनीले बीमा क्षेत्रमा बिचौलियाको रूपमा काम गरिरहेको आरोप छ। जबकि प्रचलित व्यवस्थाअनुसार यस्ता काम बीमा अभिकर्ताले मात्र गर्न पाउने व्यवस्था रहेको छ। जीवन र निर्जीवन बीमासम्बन्धी कार्य एउटै अभिकर्ताले गर्न नपाउने कानुनी व्यवस्था हुँदाहुँदै कम्पनीले अभिकर्ताको अधिकार क्षेत्रबाहिरका काम गर्दै ग्राहकलाई झुक्याएर ठगी गरेको भन्दै उजुरीहरू पर्न थालेका छन्।

कम्पनीका अध्यक्ष यूनाइटेड अजोड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार बहादुर खत्री हुन्। कम्पनीमा बीमा प्राधिकरणका पूर्वअध्यक्ष, उच्च पदस्थ अधिकारी, बीमा सर्भेयर, प्राधिकरणका बहालवाला कर्मचारी तथा एक बीमा कम्पनीका अध्यक्षको समेत लगानी रहेको छ। कम्पनीका गतिविधिलाई बीमा प्राधिकरणका कार्यकारी निर्देशकको संरक्षण रहेको आरोपसमेत छ। यस विषयमा प्रतिक्रिया लिन बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि उनको फोन नै उठेन ।

प्राधिकरणबाट नीतिगत निर्णयसम्बन्धी सूचना चुहाएर त्यसकै आधारमा बीमा कम्पनी तथा ग्राहकसँग सम्पर्क गर्ने र बीमा दाबी कन्सल्टेन्सीको नाममा रकम असुल्ने गरिएको दाबी गरिएको छ। कम्पनीका गतिविधिका कारण समग्र बीमा बजारको विश्वसनीयतामाथि समेत प्रश्न उठ्न थालेको छ।