घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह
वि.सं.२०८३ साउन २१ बिहीवार १७:१७
shares

काठमाडौं, २१ साउन । अब महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र लिनुपर्ने भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सार्वजनिक सूचना जारी गर्दै एक पटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको हो। विभागका अनुसार नेपाल सरकारको राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार यस्ता कारोबार गर्नुअघि अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्नेछ।
इजाजतपत्रका लागि कारोबारको आधारमा दस्तुर पनि तोकिएको छ। पाँच करोड रुपैयाँसम्मको कारोबारका लागि पाँच लाख रुपैयाँ र पाँच करोडभन्दा बढी कारोबारका लागि दश लाख रुपैयाँ दस्तुर लाग्नेछ। यसअघि अनलाइन आवेदन दिए पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः आवेदन दिनुपर्ने विभागले जनाएको छ।
अनलाइन आवेदनसँगै आवश्यक कागजातको प्रिन्ट प्रतिलिपि विभागमा बुझाउनुपर्नेछ। साथै, कम्पनीका सञ्चालक सदस्यहरूले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयबाट आपराधिक गतिविधिमा संलग्न नरहेको व्यहोराको पत्र पनि पेश गर्नुपर्नेछ। इजाजतपत्र सम्बन्धी थप जानकारीका लागि विभागमा सम्पर्क गर्न सकिने जनाइएको छ।















