गोहीको मुख बाँधेर मेयरसँग विवाह
वि.सं.२०७९ असार २५ शनिवार १३:०१
shares

काठमाडौं, २५ असार । विश्वमा अच्चम अच्चमका घटनाहरु सुन्न र देख्न पाइन्छ । मानिसमा अनेक किसिमका इच्छाहरु समेत हुन्छ । उनीहरुले त्यस्ता कार्य गर्दा त्यो अच्चमको घटना बन्न पुग्छ । हामीले आजकाल निकै अचम्मका विवाहको खबर समेत सन्ने गरेका छौँ । कोहीले कुकुरसँग त कोहीले आफैँसँग विवाह गरिरहेको कुरा हामीले सुन्दै आएका छौँ । यस्तै एउटा अचम्मको विवाह मेक्सिकोमा भएको छ ।
मेक्सिकोको ओक्साका शहरको एउटा सानो गाउँका मेयरले गोहीसँग विवाह गरेका छन् । उनले विवाहपछि दुलही अर्थात् गोहीलाई चुम्बन पनि गरे । यो अचम्मको विवाहको फोटो र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार पेड्रो हुआमेलुला गाउँका मेयर विक्टर ह्युगो सोसाले सात वर्षको गोहीसँग विवाह गरेका हुन् । विवाहको अवसरमा गोहीलाई सेतो पोसाकसमेत अन्य रङ्गीन कपडा लगाइएको देखिन्छ । मेयर दुलहाले गोहीलाई चुम्बन पनि गरे । यद्यपि, गोहीको मुखभने बाँधिएको थियो ।
यो परम्परा अन्तर्गत गोहीलाई एउटा सानो राजकुमारीको रुपमा लिइन्छ, जो धर्ती माताको प्रतिनिधित्व गर्ने देवी हुन् । मेयरको गोहीसँग विवाहलाई मानिसलाई ईश्वरसँग जोड्ने प्रतिकको रुपमा लिइएको छ । ओक्साका राज्यको चोन्तल र हुआवे समुदायको यो परम्परा सयौँ वर्ष पुरानो हो । यसमा प्रकृतिलाई धन्यवाद दिइन्छ र भविष्यमा पनि उदार रहिरहन प्रार्थना गर्ने गरिन्छ ।















