गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
वि.सं.२०८३ भदौ ८ सोमवार ११:५४
shares

काठमाडौं, ८ भदौ । अफ्रिकी राष्ट्र गिनीको राजधानी कोनाक्रीमा सहरको सबैभन्दा ठूलो ल्याण्डफिलमा थुपारिएको फोहोरको विशाल थुप्रोको पहाड खस्दा ३० जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्।
ल्याण्डफिलमा सहरबाट निस्कने फोहोर जम्मा गरेर थुपारेर ठुलो ढिस्को बनेको थियो। अधिकारीहरूका अनुसार आइतबार रातिको भिरल वर्षाका कारण फोहोरको थुप्रोमाथिबाट पानी बगेको थियो। त्यसपछि पहिरो खसेजस्तै फोहोरको ठूलो थुप्रो खस्दा नजिकैका झुपडीहरू पुरिएका थिए।
दुर्घटनामा धेरै घरसमेत ध्वस्त भएका छन्। फोहोरको थुप्रोमुनि पुरिएकाहरूको खोजीका लागि खोज तथा उद्धार अभियान जारी रहेको छ। यो दुर्घटना कोनाक्रीको सबैभन्दा ठूलो खुला फोहोर डम्प दार एस सलाममा भएको हो। सैन्य इन्जिनियरिङ बटालियनका सरसफाइ अधिकारी लेफ्टिनेन्ट कर्णेल बाल्ड मामादो बैलोका अनुसार उक्त स्थान आइतबार नै बन्द गर्ने योजना थियो।
ल्याण्डफिल आसपास बसोबास गर्ने मानिसहरूलाई स्थान खाली गर्न सूचना दिइएको थियो। त्यसपछि धेरै मानिसले क्षेत्र छाडिसकेका थिए। तर दुर्घटना भएका बेला पनि केही मानिस त्यहाँ बसिरहेका थिए।
अफ्रिकाका धेरै सहरमा जनसंख्या तीव्र गतिमा बढिरहेको छ, तर फोहोर व्यवस्थापनको प्रणाली त्यही अनुपातमा विस्तार हुन सकेको छैन। फलस्वरूप सहरबाहिर फोहोरका विशाल थुप्रा बन्ने गरेका छन्। फोहोर थपिँदै जाँदा त्यसको थुप्रो झन् अग्लो र भारी बन्दै जान्छ। यसले थुप्रोको स्थिरता कमजोर बनाउँछ र कुनै पनि बेला खस्ने जोखिम बढ्ने गरेको विज्ञहरु बताउँछन्।
वर्षाका बेला जोखिम अझ बढी हुन्छ। पानी फोहोरको थुप्रोभित्र पस्दा त्यसको तौल बढ्छ र थुप्रो खस्न वा चिप्लिन सक्छ। गिनीमा भएको पछिल्लो दुर्घटनाको मुख्य कारण पनि भारी वर्षापछि फोहोरको थुप्रो खस्नु रहेको बताइएको छ। यस्ता डम्पिङ साइट आसपास गरिब बस्ती बस्नु पनि अर्को ठूलो समस्या हो।
कतिपय मानिस फोहोरबाट प्लास्टिक र धातु छानेर जीविकोपार्जन गर्छन् भने सस्तो जग्गा वा अन्य विकल्पको अभावका कारण पनि यस्ता स्थान नजिक बस्छन्। त्यसैले फोहोरको ठूलो थुप्रो खस्दा उनीहरू प्रत्यक्ष रूपमा जोखिममा पर्छन्।

















