Dhulikhel Eco Banner new

भोटखोलाको वरुण र छुजुङ नदीमा जलविद्युत परियोजना रोक्न स्थानीयवासीको माग

442
shares

काठमाडौं, ९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्गलगायतका नदी तथा खोलानालामाथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् । सोमवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीयको सहमति बिना आयोजना अगाडि बढाईए प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन् ।

सरकारी पदाधिकारीहरुलाई प्रभावमा पारेर ‘एम्पीक इनर्जी प्रालि’ले तल्लो वरुण जलविद्युत परियोजना र ‘साङ्ग्रिला उर्जा प्रालि’ले छुजुङ जलविद्युत परियोजना निर्माणका लागि इजाजत पत्र हासिल गरेको वक्ताहरुले आरोप लगाए ।

कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्वु थुन्डु शेर्पाले धार्मिक, सांस्कृतिक तथा आर्थिक महत्व बोकेका नदी–नालाको प्राकृतिक स्वरूप बिगारेर गरिने कार्य विकास नभई विनाश हुने धारणा राखे । शेर्पाले सम्बन्धित क्षेत्रका स्थानीयको सहमति बेगर वरुण र छुजुङ्ग खोलामा जलविद्युत परियोजना निर्माण सफल नहुने ठोकुवा गरे ।

शेर्पाले वरुण उपत्यकालाई शास्त्र अनुसार ‘बेयुल’ अर्थात् लुकेको पवित्र भूमि र सात साङ्ग्रिलामध्ये एक साङ्ग्रिला मानिदै आएकोले त्यसको पौराणिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक गरिमा संरक्षणको जिम्मा स्थानीयको मात्रै नभएर राज्यको प्रमुख दायित्व रहेको जनाए । संसार विनाश भएर प्राणी विहिन हुने अवस्थामा यो बेयुल अर्थात् पवित्र भूमिमा मात्रै जीवन रहने शेर्पाको कथन छ ।

सम्पदा संरक्षणमा सक्रिय कर्म भोटियाले भोटखोला गाउँपालिकाका २ र ४ वडामा बन्ने विद्युत परियोजनाले स्थानीय जनतालाई फाईदा भन्दा क्षति गर्ने भएकाले जनताको माग अनुसार सरकारले निर्माण कार्य रोक्नुपर्ने माग राखे ।

संखुवासभा जिल्लामा ५ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने करिब ५५ वटा जलविद्युत परियोजना रहेको उनले जानकारी दिए । ‘छुजुङ्ग र वरुण नदीबाट विद्युत उत्पादन नगर्दा राज्यको कति क्षति हुन्छ, यसअघि कहिल्यै विरोध भएको थिएन र अब किन विरोध गर्नु पर्ने अवस्था आयो, सम्बन्धित निकायले बुझ्नु पर्छ,’ भुटियाले भने ।

वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील डुक्पा थिकेपा भोटेले जैविक विविधता र वातावरणीय दृष्टिले अति समृद्ध वरुण उपत्यकामा विद्युत परियोजना सञ्चालन गर्नु भन्दा पनि तीर्थाटन, अध्ययन र पर्यटकीयरुपले विकास गर्नुपर्नेमा जोड दिए ।

माङरुवा तथा तल्लो वरुण नदी संघर्ष समितिका अभियन्तासमेत रहेका थिकेपाले आफूहरुलाई कुनै थाहा जानकारी नदिई गरिने निर्माण कार्यको कडा प्रतिरोध गर्ने चेतावनी दिए ।

च्याम्ताङ कल्याण समाज काठमाडांैका सचिव लाक्पा आङ्जुक भोटेले आयोजनाको कारण भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ का विभिन्न आदिवासी तथा धार्मिक समुदायको आस्था, संस्कारमाथि प्रत्यक्ष नकारात्मक असर पार्ने कार्यले स्थानीय रुष्ट भएको र संघर्षको तयारी गरेको जानकारी दिए ।

च्याम्ताङवासी ङिमा पोङसुवाले वरुण र छुजुङ नदीमा विद्युत परियोजना निर्माण गरिदा हिन्दू, बौद्ध र किराँत धर्मावलम्वीहरूले गर्ने धार्मिक अनुष्ठान, पूजा, स्नान तथा साधना गर्दै आएको संस्कारमा आघात पुग्ने जनाए । पोङसुवाले निर्माण कार्य सम्बन्धी प्रक्रिया तत्काल रोक्नुपर्ने माग राखे ।

स्थानीय टिकाराम गुरुङले विद्युत परियोजनाको स्वार्थलाई सार्थक बनाउन उद्यत राज्यका केही जिम्मेवार व्यक्तिहरुको कारण धार्मिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय चासोको क्षेत्रमाथि विनाशकारी क्रियाकलाप हुन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

आदिवासी जनजाति महासंघका पूर्वकार्यवाहक महासचिव शुकवीर थामीले सो क्षेत्रको संवेदनशीलताप्रति महासंघको ध्यानाकर्षण भएको बताए । थामीले सिमित व्यक्तिहरुको स्वार्थको लागि सीमान्तकृत, आदिवासीहरुको आत्मसम्मान र जीविकोपार्जन गर्ने अधिकारको हनन सह्य नहुने चेतावनी दिए ।

हिमालय भोटे समाजको अध्यक्ष टासीग्याल्जेन चाङ्वा भोटेले धार्मिक आस्था बोकेका पवित्र नदीहरुमा जलविद्युत परियोजना निर्माण कार्य रोक्नु पर्नेमा जोड दिए । स्थानीयको विरोध हुँदाहुँदै पनि परियोजना बनाउन दिनु राज्यको बलमिच्याई भएको उनको दावी छ । भोटेले मकालु वरुण राष्ट्रिय निकुञ्ज, द ग्रेट हिमालय टे«क लगायतका महत्वपूर्ण पर्यटकीय तथा धार्मिक सम्पदा मास्ने खेल भएको आरोप लगाए ।

सामाजिक क्षेत्रमा क्रियाशील जीवनाथ खनालले राज्य सधैं आम जनताको विपक्षमा रहेको जिकिर गर्दै भोटखोलामा जलविद्युत परियोजनाको नाममा भइरहेको अतिक्रमण त्यसैको निरन्तरता रहेको दावी गरे । ‘राज्यको शक्ति सिंहदरवारबाट स्थानीय तहसम्म पुग्दा पनि सो प्रवृत्तिको पुनरावृति भइरहनु दुर्भाग्य हो, सो कार्य छुजुङ र वरुणमा मुखरित भएको छ,’ खनालले भने । सरकारको आधिकारिक निकाय विद्युत प्राधिकरणको पसलमा बिक्रीका लागि राखिएको बिजुली विकास नभई व्यापारिक वस्तु भएको खनालको कथन छ ।

स्थानीय मिक्मा तेम्बा लामाले जलविद्युत परियोजना निर्माण कार्यलाई अगाडि बढाउन केन्द्र सरकार एकतर्फी लागेको आरोप लगाए । उनले सरकारी बलमिच्याई विरुद्ध स्थानीय सरकार, स्थानीय तहमा रहेका मकालु वरुण राष्ट्रिय निकञ्ज, जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका नेताहरुलगायत धार्मिक संघसंस्थाले औपचारिकरुपमा नै विरोध गर्दासमेत सिंहदरवार र परियोजना प्रबद्र्धकको साँठगाँठको कारण स्थानीय जनता आन्दोलित हुनुपरेको जानकारी दिए ।