Dhulikhel Eco Banner new

साउन–भदौमा छाएको सुस्तता र नेप्सेमा ७८ प्रतिशत रिट्रेसमेन्टको परीक्षण: २५९० को रेखा अब मुख्य अग्निपरीक्षा

ठूला ब्रोकरको खरिद रणनीति

286
shares

सेयर बजारमा सामान्यतया साउन र भदौ महिनालाई ‘स्वर्णिम समय’ मानिने गरे पनि चालु आर्थिक वर्षको यो अवधिमा बजारको दृश्य सोचेभन्दा ठीक विपरीत देखिएको छ। सूचीकृत कम्पनीहरूको वार्षिक वित्तीय विवरण सार्वजनिक हुने, लाभांश घोषणा हुने तथा नयाँ बजेट कार्यान्वयनमा आउने यो अवधि विगतमा निकै चलायमान हुने गरेको थियो। तर, नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना बित्न लाग्दा र लाभांशको मुख्य मौसम चलिरहँदा पनि पुँजी बजारमा उत्साह फर्कन सकेको छैन। गत साउन ५ गते २,७५४ को उच्च विन्दुसम्म पुगेको नेप्से परिसूचक त्यसयता निरन्तर ओरालो लाग्दै पछिल्लो कारोबार दिन ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा सीमित भएको छ।

बजार निरन्तर घटिरहेको भए पनि सेयर खरिदबिक्रीको आकार भने फराकिलो बन्दै गएको देखिन्छ। अघिल्लो दिन ३ अर्ब २३ करोड रुपैयाँबराबरको कारोबार भएकोमा त्यसपछि बढेर ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। यस दिन ३५७ कम्पनीका १ करोड ४४ हजार कित्ता सेयर कारोबारमा आए। कारोबार रकमको यो वृद्धिले बजारमा लगानीकर्ताको उपस्थिति पूर्ण रूपमा नसुकेको तर सूचकले भने निरन्तर दबाब बेहोर्नुपरेको विरोधाभासपूर्ण अवस्था देखाएको छ।

विज्ञहरूका अनुसार वर्तमान बजारको यो सुस्तता सैद्धान्तिक अनुमानभन्दा भिन्न छ। गत आर्थिक वर्षमा मात्र वाणिज्य बैंकहरूले आफ्नो खुद नाफा करिब ३२ प्रतिशतले बढाएका छन् भने बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) प्रचुर मात्रामा थुप्रिएको छ। लामो समयदेखि मन्दीको चपेटामा परेको घरजग्गा कारोबारबाट बाहिरिएको पुँजी सेयर बजारमा भित्रिनुपर्ने हो। तर, नियामक निकायले केही नीतिगत लचकता अपनाए पनि बजारलाई कृत्रिम रूपमा नउकास्ने नीतिगत अडान र ठूला लगानीकर्ताहरूको जारी निष्क्रियताका कारण आम लगानीकर्ताहरू अझै पनि ‘पर्ख र हेर’ कै रणनीति अपनाउन बाध्य छन्।

केही कम्पनीमा चमक, समग्रमा ११ उपसमूह राताम्मे

कारोबारका अन्य सूचकहरूलाई हेर्दा, बजार घट्दा पनि केही कम्पनीहरूमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। सर्वोत्तम पेन्ट्सको सेयरमूल्य लगातार सकारात्मक सर्किट लेभलमा पुग्दै १३७ रुपैयाँ ५० पैसाले बढेर १ हजार ५४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य करिब १५ प्रतिशत र नाडेप लघुवित्तको मूल्य ६ प्रतिशतले बढेको छ। यसविपरीत, धौलागिरी लघुवित्तको सेयरमूल्य सर्वाधिक १०.०७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ९० करोडभन्दा बढीको सेयर किनबेच भएको मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो।

उपसमूहगत विश्लेषण गर्दा १३ मध्ये विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंकले बढे पनि बाँकी ११ वटै उपसमूह राताम्मे भएका छन्। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.९१ प्रतिशतले घटेको छ।

प्राविधिक विश्लेषण: २५९० को मनोवैज्ञानिक बिन्दु र ठूला ब्रोकरको खरिद रणनीति

सेयर बजारमा पछिल्लो समय देखिएको ओरालो यात्राले प्राविधिक रूपमा पनि थप दबाब सिर्जना गरेको छ। बजारले पुनः एउटा तल्लो विन्दु (Lower Low – LL) क्यान्डल बनाउँदै आफ्नो यात्रालाई कमजोर बनाएको छ भने यससँगै नेप्सेले करिब ७८ प्रतिशतको महत्त्वपूर्ण फाइबोनासी रिट्रेसमेन्ट तहलाई परीक्षण गरेको छ।

प्राविधिक विश्लेषक अजित खनालका अनुसार बजारको समग्र ट्रेन्ड डाउन ट्रेन्डमा रहेको र एडीएक्स (ADX) सूचकले बजारमा बलियो बियरिस सेन्टिमेन्ट कायम रहेको स्पष्ट संकेत गरेको छ। प्राविधिक रूपमा हेर्दा बजारका अधिकांश पारामिटरहरू अहिले पूर्ण रूपमा नकारात्मक वा बियरिस देखिएका छन्। यद्यपि, राहतको एउटा मात्र पक्ष भनेको सापेक्षिक शक्ति सूचक (RSI) ओभर सोल्ड (Oversold) जोनको अति नजिक आइपुग्नु हो।

अबको मुख्य चासो २५९० विन्दुको रेखामा टिकेको छ। यदि आगामी सत्रहरूमा बजार २५९० भन्दा तलको विन्दुमा बन्द हुन्छ भने त्यो नेपाली पुँजी बजारका लागि अझ ठूलो खतर्को संकेत हुनेछ। यद्यपि, बजारका सरोकारवालाहरू अब बजारले यही बिन्दुबाट सम्हालिनुपर्ने र २५९० भन्दा माथिनै बस्नेमा आशावादी देखिन्छन्।

कारोबारको गतिशीलतालाई केलाउँदा, कुल कारोबार रकममा देखिएको वृद्धिको पछाडि बजारको प्राकृतिक मागभन्दा पनि करिब ९० करोड रुपैयाँ बराबरको ‘म्याचिङ कित्ता’ (Matching Shares) को कारोबार मुख्य कारण रहेको बजार विश्लेषकहरूको ठम्याइ छ। त्यस दिन थोरै ग्याप डाउन भएर खुलेको बजारले बिहान ११:३१ बजे नै दिनको उच्च विन्दु (Day High) छोएको थियो। त्यसपश्चात् भने बाँकी समयभर बजार तल्लो विन्दु (LL) र तल्लो उच्च (LH) को चक्रमा फस्दै निरन्तर दबाबमा रह्यो।

साना आत्तिए, ठूलाले जोहो गरे (ब्रोकर विश्लेषण)

समग्र बजारमा व्यापक निराशा र बिक्री चाप देखिए पनि ठूला र रणनीतिक लगानीकर्ताहरूको गतिविधि भने केही भिन्न पाइएको छ। बजारका शीर्ष १० वटा ठूला ब्रोकरहरूको कारोबार विवरणलाई विश्लेषण गर्दा, तीमध्ये ६ वटा ब्रोकरले सेयर बिक्री गरेको भन्दा खरिदको मात्रा बढी देखाएका छन्। यसले बजार घटेर साना लगानीकर्ताहरू आत्तिएका बेला ठूला खेलाडीहरूले भने तल्लो विन्दुबाट सेयर सञ्चित (Accumulate) गर्दै गरेको बलियो संकेत प्रदान गरेको छ।