कान्स विजेता ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
वि.सं.२०८३ भदौ १९ शुक्रवार १४:०६
shares

काठमाडौं, १९ भदौ । कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ आज, शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ । चलचित्रले सन् २०२६ को कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ हासिल गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाका लागि एक ऐतिहासिक गौरवको क्षण सिर्जना गर्न सफल भएको थियो ।
चलचित्रको व्यावसायिक प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्रको निर्माण टोली र ‘जोन्टा क्लब अफ काठमाण्डु’को आयोजनामा विशेष ‘फन्ड–रेजर’ प्रदर्शनहरू गरिएको थियो जसको माध्यमबाट भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि सहयोगार्थ कोष संकलन गरिएको थियो । ती विशेष प्रदर्शनहरूबाट प्राप्त आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिएको छ । यो पहलले पुनःनिर्माण र पुनःस्थापनाको प्रयासमा जुटिरहेका बाढी प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्याउने निर्माण टोलीको विश्वास छ ।
समुदाय, अपनत्व र एक–अर्काको साथमा उभिने मानिसहरूको कथा बोकेको यस चलचित्रको नेपाल यात्रामा यो पहलले अझ गहिरो अर्थ थपेको छ । जङ्गल र जङ्गली हात्तीहरूले घेरिएको एउटा नेपाली गाउँको पृष्ठभूमिमा आधारित ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’, पिरती नाम गरेका किन्नर समुदायकी एक महिलाको कथा हो । उनको संसार तब परिवर्तन हुन्छ जब उनकी छोरी हराउँछिन् । हराएकि छोरीको खोजीको रूपमा सुरू हुने यो यात्रा प्रेम, स्वतन्त्रता, उत्तरदायित्व र अपनत्वको बारेमा एक गहिरो मानवीय कथामा परिणत हुन्छ ।
यो चलचित्र निर्देशक शाहको फिचर निर्देशकीय डेब्यु हो र यो कान्सको ‘अन सर्टेन रिगार्ड’ विधाका लागि छोटो सूचीमा छनौट भएको थियो, जहाँ यसले ‘जुरी प्राइज’ प्राप्त गर्न सफल भएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा चर्चा र प्रशंसा बटुलेपछि, ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ अब घरेलु दर्शकमाझ आएको छ ।
आजदेखि देशैभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेको चलचित्र दर्शकहरूले आफुलाई पायक पर्ने सिनेमा हलमा गई ठूलो पर्दामा अनुभव गर्न सक्नेछन् ।


















