Dhulikhel Eco Banner new

मुक्तिनाथसँगको मर्जर सम्झौतापछि सिन्धु र जानकीको सेयरमा पहिरो : ‘स्वाप रेसियो’ को त्रासमा साना लगानीकर्ता

689
shares

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रारम्भिक सम्झौता गरेसँगै सेयर बजारमा ती दुई संस्थाको सेयर मूल्यमा उच्च गिरावट आएको छ। भदौ १९ गते मर्जर सम्झौता भएपछि सोमबार बजार खुल्नासाथ सिन्धु र जानकीको सेयरमा ‘प्यानिक सेल’ (आत्तिएर बेच्ने क्रम) चलेको थियो। खरिदकर्ता शून्य हुँदा दुवै कम्पनीको सेयर मूल्यमा ‘नेगेटिभ सर्किट’ नै लागेर सिन्धुको मूल्य ४९७ र जानकीको ३१३ रुपैयाँमा झरेको छ।

लगानीकर्ताहरू यसरी आत्तिनुको मुख्य कारण कमजोर ‘स्वाप रेसियो’ (सेयर आदानप्रदान अनुपात) आउने त्रास हो। मर्जर सम्झौताअघि (भदौ १८ गते) दोस्रो बजारमा मुक्तिनाथको सेयर मूल्य ३५६ रुपैयाँ हुँदा सिन्धुको ५८५ र जानकीको ३६८ रुपैयाँ थियो। तर, मर्जर प्रक्रियामा जाँदा बजार मूल्यका आधारमा नभई संस्थाको सम्पत्ति तथा दायित्वको वास्तविक मूल्यांकन (डीडीए) का आधारमा स्वाप रेसियो तय गरिन्छ। वित्तीय सूचकमा निकै बलियो रहेको मुक्तिनाथले आफूभन्दा कमजोर संस्थालाई गाभ्दा डीडीए रिपोर्टअनुसार सिन्धु र जानकीको स्वाप रेसियो निकै कम आउने आकलन गर्दै सर्वसाधारण लगानीकर्ताले घाटा कम गर्न सस्तोमै सेयर बेचेका हुन्।

नियामक निकायको पछिल्लो नीतिगत व्यवस्थाले पनि साना लगानीकर्तालाई मारमा पारेको विश्लेषकहरूको भनाइ छ। मर्जर सम्झौता हुँदा आधारभूत (कोर) सेयरधनीको मात्र कारोबार रोक्का गरी सर्वसाधारणको कारोबार खुल्ला राखिनु र सम्झौतामै स्वाप रेसियो नखुलाइनुले बजारमा अन्योल सिर्जना भएको हो। यही अन्योलका बीच चर्चित लगानीकर्ता केशव कोइरालाले सामाजिक सञ्जालमा “लो क्यापहरू सबै हाई क्यापमा पोइल जान्छन् जस्तो छ” भन्दै गरेको व्यंग्यात्मक टिप्पणीले लगानीकर्ताको मनोबल झनै खस्काएको र बजारको मनोविज्ञानलाई प्रतिविम्बित गरेको छ।

यस प्राप्ति प्रक्रियाले दीर्घकालीन रूपमा मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी, कर्जा प्रवाह क्षमता र व्यावसायिक सञ्जाल विस्तार भई संस्था थप मजबुत हुने वित्तीय क्षेत्रका जानकारहरू बताउँछन्। तर, तत्कालका लागि भने सिन्धु र जानकीका सर्वसाधारण लगानीकर्ताले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ। मर्जरजस्तो संवेदनशील निर्णयका बेला सर्वसाधारणको कारोबार नरोक्ने नीतिले नियामक निकायको भूमिकामाथि नै गम्भीर प्रश्न उब्जाएको छ।