Dhulikhel Eco Banner new

हथवे इन्भेष्टमेन्टले दुई कम्पनीमा ४० करोड रुपैयाँ लगानी गर्ने

1.01K
shares

काठमाडौं, २५ भदौ । हथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो लगानी विविधीकरण गर्दै दुई कम्पनीमा कुल ४० करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीको २०८३ भदौ २४ गते बुधबार अपराह्न ३ः३० बजे बसेको २३५औँ सञ्चालक समितिको बैठकले लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्ने तथा दीर्घकालीन लगानी गर्ने नीतिअनुसार उक्त निर्णय गरेको हो।

निर्णयअनुसार हथवे इन्भेष्टमेन्टले श्री शुगर मिल्स लिमिटेडको संस्थापक सेयरमा प्रतिशेयर १०० रुपैयाँका दरले २५ लाख कित्ता सेयर खरिद गर्ने भएको छ। यसमा कम्पनीले कुल २५ करोड रुपैयाँ लगानी गर्नेछ।

त्यस्तै, मिजान टेसा पावर प्रा.लि. ले प्रवर्द्धन गरिरहेको संखुवासभा जिल्लामा निर्माणाधीन २४.९२१ मेगावाट क्षमताको इन्दुवा खोला PROR जलविद्युत् आयोजनामा पनि हथवेले लगानी गर्ने निर्णय गरेको छ। उक्त आयोजनाको संस्थापक सेयरमा प्रतिशेयर १०० रुपैयाँका दरले १५ लाख कित्ता सेयर खरिद गरी १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय  गरेको हो।

यसरी हथवे इन्भेष्टमेन्टले चिनी उद्योगतर्फ २५ करोड र जलविद्युत् आयोजनातर्फ १५ करोड गरी कुल ४० करोड रुपैयाँ लगानी गर्ने भएको हो।

कम्पनीले उक्त निर्णयसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेपाल धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई समेत जानकारी गराएको जनाएको छ।