Dhulikhel Eco Banner new

नेप्सेमा सुस्तता: घट्दो ट्रेन्डलाइनको दबाब

780
shares

सेयर बजारमा लगातारको गिरावट र सुस्त कारोबारले लगानीकर्ताहरूमा निराशा थप गहिरिँदै गएको छ। बिहीबारको ओरालो यात्रालाई निरन्तरता दिँदै साताको अन्तिम दिन आज पनि बजारले कुनै ठोस गति लिन सकेको छैन। अघिल्लो कारोबार दिन १३.८५ अंकले घटेर नेप्से २५३१.५५ विन्दुमा सीमित बनेपछि आज पनि बजारमा ‘पर्ख र हेर’ को प्रवृत्ति हावी देखिएको छ।

बजारका सबै उपसमूहहरू राताम्य बन्ने क्रमले आज पनि निरन्तरता पाएको छ। दैनिक कारोबार रकम ४ अर्ब रुपैयाँको वरपर मात्रै खुम्चिनुले बजारमा नयाँ पुँजी भित्रिन सकेको छैन भन्ने प्रस्ट संकेत गर्छ। बजार अलिकति बढ्नेबित्तिकै नाफा सुरक्षित गरिहाल्ने प्रवृत्ति (प्रोफिट बुकिङ) का कारण लगानीकर्ताहरूमा आत्मविश्वासको कमी प्रस्टै झल्किन्छ।

प्राविधिक विश्लेषकहरूका अनुसार बजार अझै पनि ‘डाउनट्रेन्ड’ कै घेराभित्र जकडिएको छ। चार्टमा देखिएका ‘लोअर हाइ’ र ‘लोअर लो’ का शृंखलाहरूले घट्दो ट्रेन्डलाइनले बजारलाई निरन्तर तलतिर धकेलिरहेको देखाउँछन्। हाल नेप्से २,५०० देखि २,५२० विन्दुको मुख्य टेवा (सपोर्ट) क्षेत्रको नजिक रहेर संघर्ष गरिरहेको छ।

जबसम्म नेप्सेले यो घट्दो ट्रेन्डलाइनलाई चिर्दै २,६७३ को पहिलो प्रतिरोध (रेजिस्टेन्स) लाई स्पष्ट रूपमा पार गरेर माथि जान सक्दैन, तबसम्म बजारमा ढुक्क भएर खरिद गर्ने वातावरण बनिसकेको छैन। यदि बजारले यो सपोर्ट क्षेत्रलाई पनि जोगाउन सकेन भने थप जोखिम आउन सक्ने भएकाले लगानीकर्ताहरूलाई उच्च सतर्कता अपनाउन प्राविधिकहरूको सुझाव छ।