Dhulikhel Eco Banner new

ठूला व्यापारी भेटेर मात्र समस्या समाधान हुँदैन : नरेश कटुवाल

1.29K
shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार विनोद चौधरी, चन्द्र ढकाल, पवन गोल्यान, उमेश श्रेष्ठलगायत ठूला उद्योगी–व्यवसायीसँग भेटवार्ता गरेका छन्। सरकार र निजी क्षेत्रबीच संवादका दृष्टिले उक्त भेटलाई कतिपयले सकारात्मक कदमका रूपमा लिएका छन्।

तर, पछिल्लो समय नयाँ सरकारको खुलेरै समर्थन गर्दै आएका नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले भने प्रधानमन्त्रीको उक्त भेटप्रति असन्तुष्टि जनाएका छन्। उनले औँलामा गन्न सकिने ठूला उद्योगी–व्यवसायीलाई भेटेर मात्र मुलुकको व्यावसायिक समस्या समाधान नहुने बताएका छन्।

कटुवालले विगतमा कांग्रेस, एमाले र माओवादी नेतृत्वका सरकारले पनि ठूला उद्योगी–व्यवसायीलाई बोलाएर भेट्ने गरेको स्मरण गर्दै अहिले पनि त्यही परम्पराले निरन्तरता पाएको टिप्पणी गरेका छन्।

उनका अनुसार मुलुकमा रोजगारी सिर्जना गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन केही ठूला व्यवसायीमा मात्र केन्द्रित हुनेभन्दा समग्र साना तथा मझौला उद्योग–व्यवसायको प्रवद्र्धन र संरक्षणमा सरकारको ध्यान जान आवश्यक छ।

“ठूला उद्योगी–व्यवसायीलाई भेट्दैमा देशको आर्थिक समस्या समाधान हुँदैन। रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई तल्लो तहसम्म चलायमान बनाउने साना तथा मझौला व्यवसायीका समस्या सरकारले प्राथमिकतामा राख्नुपर्छ,” कटुवालको भनाइ छ।

उनले नयाँ सरकारप्रति निजी क्षेत्रले राखेको अपेक्षा पूरा गर्न सरकार व्यवसायीको तहगत संरचना र वास्तविक समस्या बुझेर अघि बढ्नुपर्ने बताए।

कटुवालका अनुसार साना तथा मझौला व्यवसायीलाई सहज कर्जा, लगानीको वातावरण, कर तथा प्रशासनिक सहजीकरण र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्न सके मात्रै मुलुकमा रोजगारी विस्तार र आर्थिक गतिविधिमा सुधार ल्याउन सकिन्छ।

“सरकारले केही सीमित ठूला व्यवसायीको कुरा सुन्ने होइन, देशभरका साना तथा मझौला व्यवसायीको आवाज सुन्नुपर्छ,” उनले भने।