Dhulikhel Eco Banner new

आईपीओ निष्कासनमा सेबोनको कडाइ : सञ्चालकको ‘फिट एन्ड प्रोपर’ परीक्षण गरिने

494
shares
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक शेयर (आईपीओ) निष्कासन प्रक्रियालाई थप पारदर्शी र सुरक्षित बनाउन नयाँ मापदण्ड प्रस्ताव गरेको छ । लगानीकर्ताको हित संरक्षण, कम्पनीको वित्तीय अवस्था र संस्थागत सुशासनलाई केन्द्रमा राख्दै बोर्डले ‘सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा अघि बढाएको हो । मस्यौदाअनुसार अब कम्पनीहरूले आईपीओबाट संकलन हुने रकमको स्पष्ट उपयोग योजना आफ्नो साधारणसभाबाट अनिवार्य रूपमा पारित गराउनुपर्नेछ ।
प्रस्तावित व्यवस्थाले कम्पनीको वित्तीय स्थिति र सूचना प्रवाहमा विशेष जोड दिएको छ । शेयर निष्कासन गर्नुअघि कम्पनीले पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण आफ्नै तथा बिक्री प्रबन्धकको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ । त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ अंकित मूल्य (फेस भ्यालु) भन्दा कम हुन नहुने र नाफा कृत्रिम रूपमा नबढाई वास्तविक व्यावसायिक कारोबारबाटै आर्जन गरेको हुनुपर्ने कडा सर्त राखिएको छ ।
नयाँ निर्देशिकाको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको कम्पनीका संस्थापक, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को ‘फिट एन्ड प्रोपर’ परीक्षण गर्नु हो । वित्तीय अनुशासन, कानुनी अनुपालन र व्यावसायिक पृष्ठभूमिलाई आधार मानेर उनीहरूको योग्यता जाँचिनेछ । गम्भीर आर्थिक अपराध, भ्रष्टाचार वा ठगीमा दोषी ठहर भई सजाय भुक्तान गरेको तीन वर्ष नपुगेका र कालोसूचीबाट फुकुवा भएको ६ महिना पूरा नभएका व्यक्ति संलग्न कम्पनीलाई आईपीओ जारी गर्न रोक लगाइनेछ ।
शेयर निष्कासन गर्न चाहने कम्पनीले आन्तरिक जोखिम व्यवस्थापन प्रणाली अनिवार्य रूपमा लागू गरेको हुनुपर्ने प्रस्ताव मस्यौदामा छ । सर्वसाधारणबाट उठाइएको रकम पूर्वस्वीकृत योजनाबाहेक अन्यत्र खर्च गर्न पाइने छैन । यो मस्यौदाले अन्तिम रूप पाएर कार्यान्वयनमा आएपछि पुँजी बजारमा वित्तीय रूपले सबल र सुशासनयुक्त कम्पनीहरूको मात्र प्रवेश सुनिश्चित हुने देखिन्छ ।