Dhulikhel Eco Banner new

राप्ती हाइड्रोलाई माग गरिएको भन्दा झन्डै ४६ प्रतिशत कम हकप्रद शेयर निष्काशन गर्न अनुमति

845
shares

काठमाडौं, १२ असोज । विद्युत् नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई कम्पनीले माग गरेकोभन्दा झन्डै ४६ प्रतिशत कम अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

कम्पनीले १ः०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशनका लागि अनुमति मागेकोमा आयोगले १ः०.२५१४ अनुपातमा मात्र स्वीकृति दिएको हो । यससँगै कम्पनीले माग गरेको हकप्रद निष्काशन अनुपातमा ०.२१४७ बिन्दुले कमी भएको छ ।

स्वीकृत अनुपातअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । यसबाट कम्पनीले ३० करोड ८१ लाख २६ हजार २०० रुपैयाँ पूँजी जुटाउनेछ ।

कम्पनीको प्रस्तावित अनुपातअनुसार हकप्रद निष्काशन भएको भए करिब ५७ लाख १३ हजार कित्ता शेयर निष्काशन हुने थियो । त्यसको तुलनामा आयोगबाट स्वीकृत शेयर संख्या करिब २६ लाख ३२ हजार कित्ता कम हो ।

गत पुस २९ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले १ः०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा कम्पनीले अनुमति मागेकोमा आयोगले असोज ८ गते संशोधित अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति दिएको हो ।

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी वृद्धि हुनेछ । यद्यपि, हकप्रदबाट उठाइएको रकम कुन परियोजना वा प्रयोजनमा प्रयोग गरिने भन्ने विवरणका आधारमा यसको वित्तीय प्रभाव थप स्पष्ट हुनेछ ।