Dhulikhel Eco Banner new

करेन्ट लागेर मृत्यु भएकी देवीका परिवारलाई प्राधिकरणले दियो १० लाख

416
shares

काठमाडौं, १२ असोज । विद्युतको करेन्ट लागेर ज्यान गुमाएकी काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ फलाँटेकी ४५ वर्षीया देवी उप्रेतीलाई नेपाल विद्युत् प्राधिकरणले १० लाख क्षतिपूर्ति उपलब्ध गराएको छ।

उक्त गाउँपालिका–८ डाँडाथोक तल्लोटारमा गत साउन ७ गते विद्युत् पोल अड्याउन राखिएको स्टे वायरमा प्रवाह भएको करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो। स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा पुग्दा उनको मृत्यु भएको हो।

घटनापछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र पीडित परिवारबीच पीडित परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। सो अनुरुप आजै रकम उपलब्ध गराइएको छ।

प्राधिकरणको पाँचखाल वितरण केन्द्रका प्रमुख दीपक सापकोटाका अनुसार पीडित परिवारलाई क्षतिपूर्ति वापत प्रशासनको रोहबरमा रु १० लाखको चेक हस्तान्तरण गरिएको छ।