Dhulikhel Eco Banner new

दुई हप्तामा थपियो १ खर्ब निक्षेप, ऋण प्रवाह भने निरन्तर ओरोलो

4.75K
shares

काठमाडौं, २८ असार । चालू आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहेको अवस्थामा बैंकहरुमा उच्च मात्रामा निक्षेप बढेको छ । बैंकहरुमा चालू आर्थिक वर्षको अन्तिम महिनाको २१ दिनमा मात्रै १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार ३ असारसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ९४ अर्ब निक्षेप रहेकोमा असार २४ गतेसम्म आइपुग्दा यो बढेर निक्षेप बढेर ४४ सय ९४ अर्ब रुपैयाँ पुगेको हो । यो अवधिमा ऋण प्रवाह भने १९ अर्बले घटेको छ । असारको सुरुमा ४१ खर्ब ९३ अर्ब ऋण प्रवाह रहेकोमा असार २४ गतेको तथ्यांकमा ४१ खर्ब ७१ अर्ब मात्रै ऋण प्रवाह भएको देखिएको छ ।

नेपाल बैकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार असार महिनाको पहिलो हप्ता निक्षेप ७ अर्बले र ऋण ५ अर्बले घटेको थियो । त्यस्तै दोस्रो हप्ता ४ अर्बले निक्षेप बढयो तर ऋण प्रवाह भने ६ अर्बले घटेको थियो । असारको तेस्रो र चौथो हप्ता भने वाणिज्य बैंकहरुमा निक्षेप ह्वात्तै बढेको देखिएको छ । तेस्रो हप्ता वाणिज्य बैंकमा ३४ अर्बले र चौथो हप्ता ६२ अर्बले निक्षेप बढेको हो । तथ्यांक अनुसार तेस्रो हप्ता वाणिज्य बैकहरुमा २ अर्बले ऋण बढेको छ भने चौथो हप्ता १० अर्बले ऋण घटेको छ ।

राष्ट्र बैंकले चालु आवको असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतको दायरामा ल्याउन निर्देशन दिए सँगै बैंकहरुले कर्जा असुलीलाई तिव्रता दिएका थिए । नेपाल बैकर्स संघका अनुसार वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.५७ प्रतिशत रहेको छ ।