राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने
वि.सं.२०८३ असोज १९ सोमवार १०:०८
shares

काठमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार एक सुचना जारी गर्दै पूर्व–योग्य सुरक्षामूलक मिन्टिङ कम्पनीहरूबाट सिक्काको डिजाइन, टकमारी, आपूर्ति तथा डेलिभरीका लागि सिलबन्दी बोलपत्र माग गरेको हो ।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाबाट सिक्का उत्पादनका लागि बोलपत्र आह्वान गरेको जनाएको छ । पूर्व–योग्य बोलपत्रदाताले थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार विभागबाट बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन् । कागजात खरिदका लागि २० हजार रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो गैरफिर्ता हुने दस्तुर तोकिएको छ । बोलपत्रसम्बन्धी कागजात कात्तिक १७ सम्म खरिद गर्न सकिनेछ ।
बोलपत्र प्रक्रियाबारे जानकारी तथा आवश्यक विषयमा छलफल गर्न राष्ट्र बैंकले असोज ३० गते दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्व–बोलपत्र बैठक आयोजना गर्ने भएको छ ।
बोलपत्रदाताले प्राविधिक र मूल्य प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा राखी कात्तिक १८ गते दिउँसो १२ बजेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा पेस गर्नुपर्नेछ । बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ ।
बोलपत्र पेस गर्दा न्यूनतम १ लाख ३२ हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ/अन्य मुद्राको धरौटी राख्नुपर्नेछ । उक्त धरौटीको म्याद १५० दिन अर्थात् आगामि चैत २० सम्म कायम हुनुपर्नेछ ।

















