Dhulikhel Eco Banner new

मुक्तिनाथ विकास बैंकका सेयरधनीलाई पुरानो लाभांश बुझ्न ३५ दिने अल्टिमेटम

520
shares

काठमाडौं — मुक्तिनाथ विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो बक्यौता नगद लाभांश दाबी गर्न आफ्ना सेयरधनीहरूलाई ३५ दिने म्याद दिएको छ। बैंकले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र लाभांश नबुझेमा उक्त रकम कानुनबमोजिम ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा गरिने स्पष्ट पारेको छ।

कम्पनी ऐन, २०६३ र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार ५ वर्षसम्म दाबी नपरेका लाभांशको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ। सोहीअनुरूप बैंकले आर्थिक वर्ष २०६८/६९ (छैटौँ), २०६९/७० (सातौँ), २०७०/७१ (आठौँ) र २०७६/७७ (पन्ध्रौँ साधारण सभा) बाट पारित भई हालसम्म वितरण हुन नसकेको नगद लाभांश बुझ्न ताकेता गरेको हो।

आफ्नो लाभांश लिन बाँकी रहेका लगानीकर्ताले सूचना निस्किएको मितिले ३५ दिनभित्र लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालय वा नक्सालस्थित सेयर रजिस्ट्रार ‘मुक्तिनाथ क्यापिटल’ मा सम्पर्क गर्नुपर्नेछ। लाभांश दाबी गर्न जाँदा सेयरधनी प्रमाणपत्र र परिचय खुल्ने आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ। दाबी गर्न बाँकी सेयरधनीहरूको विस्तृत सूची बैंक तथा क्यापिटलको आधिकारिक वेबसाइटमा समेत हेर्न सकिने व्यवस्था मिलाइएको छ।