Dhulikhel Eco Banner new

नारायणी नदी किनारमा भेटिएको शंकास्पद वस्तु काट्दा विस्फोट, दुई जना घाइते

845
shares

काठमाडौं, २६ असोज । नवलपुरकोकावासोती नगरपालिका–१७ अमलटारीघाटस्थित नारायणी नदी किनारमा भेटिएको शंकास्पद वस्तु काट्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानका ४९ वर्षीय एकासी बोटेले सोमबार बिहान करिब ८ बजे नदी किनारमा उक्त वस्तु फेला पारेका थिए । उनले घरमा ल्याएको वस्तु बिहान करिब ११ः२० बजे कवाडी व्यवसायमा संलग्न व्यक्तिसँग मिलेर ह्याक्सा ब्लेडले काट्ने क्रममा विस्फोट भएको हो ।

विस्फोटमा परी बोटे र भारतको बिहारस्थित मोतीहारी घर भई कावासोती–८ थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमार घाइते भएका छन् ।

प्रहरीका अनुसार उक्त वस्तुको बाहिरी भागमा डोरीजस्तो सामग्री बेरिएको, भित्री भाग फलामजस्तो देखिने र बेलनाकार रहेको थियो । करिब दुई फिट लम्बाइ र १४ इन्च गोलाइको उक्त वस्तुको वास्तविक पहिचान भने खुल्न सकेको छैन ।

घाइते दुवैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डन्डा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बोटेलाई भरतपुर अस्पताल र सचिन कुमारलाई चितवन मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु विस्फोट हुनुको कारण र उक्त वस्तुको पहिचानबारे थप विवरण आउन बाँकी छ ।