यात्रुको पावर बैंकमा आगलागी, गन्तव्य नपुग्दै अवतरण गरियो विमान
वि.सं.२०८३ असोज २६ सोमवार १२:१२
shares

काठमाडौं, २६ असोज । भारतमा यात्रुको पावर बैंकमा आगो लागेपछि इन्डिगो एयरलाइन्सको एउटा विमानलाई गन्तव्यमा नपुग्दै हैदराबादमा अवतरण गराइएको छ।
दिल्लीबाट चेन्नईका लागि उडेको इन्डिगोको उडान नम्बर 6E 6115 मा आइतबार (अक्टोबर ११) यस्तो घटना भएको हो।
विमानभित्र यात्रुको सामान राख्ने माथिल्लो भागमा रहेको पावर बैंकबाट धुवाँ निस्किएपछि चालक दलका सदस्यहरू सतर्क भएका थिए। उनीहरूले तत्कालै आगो नियन्त्रणमा लिने प्रयास गरे।
विमानमा रहेका यात्रुको सुरक्षालाई ध्यानमा राख्दै पाइलटले विमानलाई हैदराबादतर्फ मोडेका थिए। विमान हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घटनाबारे थप विवरण आउन बाँकी छ ।


















